झण्डै पाँच करोड रुपियाँ हिनामिना गरी गहना किन्ने कृषि विकास बैंकका तीन कर्मचारी समातिए

Advertisement

काठमाडौंः कृषि विकास बैंकको मुख्य कार्यालय न्यूरोडबाट अन्तर शाखा कारोबार हिसाव क्लियरिङको हिसाव पेण्डिङ देखाई बैंकको रकम एकआपसमा मिलेमतो गरी अनियमितता गर्ने बैंकका तीन जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकलाई हानीनोक्सानी पुर्याउने उद्देश्यले बैंकको चार करोड ९३ लाख रुपियाँ मौज्दात रकम हिनामिना गरेकाले न्यूरोड शाखामा कार्यरत सहायक टेलर दीपिका रेग्मीसहित तीन जनालाई पक्राउ गरेको हो ।

उनीहरुलाई बुधबार पक्राउ गरी पाटन उच्च अदालतबाट बिहीबार पाँच दिनका लागि म्याद थप भई बैंकिङ कसुर तथा सजाय ऐनअनुसार अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । रेग्मीको मुख्य संलग्नता रहेको यस अनियमिततामा संलग्नहरुलाई नेपाल राष्ट्र बैंकको पत्रको जाहेरीपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सितापाइला बस्ने ३२ बर्षीय रेग्मीबाहेक तेह्रथुम सिम्ले ५ घर भई हाल बालाजु बस्ने ४२ बर्षीय प्रकाश घतानी, दोलखा भिमेश्वर घर भई हाल काठमाडौं ३२ बस्ने ४२ बस्ने रमेश थापा रहेको जनाइएको छ ।

प्रहरी अनुसन्धानबाट खुल्न आएअनुसार रेग्मीले विभिन्न व्यक्ति तथा संस्थाले विभिन्न बैंकको चेकमार्फत कृषि विकास बैंकमा जम्मा गर्न ल्याएको चेक इलेक्ट्रोनिक चेक क्लियरिङ (इसीसी) मार्फत सम्वन्धित हितग्राहीको खातामा जम्मा गरिदिइसकेपछि उक्त भुक्तानी गरेवापत जेनेरेट गरेको रिपोर्टलाई एडिट गरी सोही चेक प्रयोग गरी पुनः इसीसीमार्फत कृषि विकास बैंकमा रहेको आफ्नो र आफन्तको खातामा जम्मा गरेको र सो रकम सुनचाँदीलगायतका अन्य सामाग्री किन्न प्रयोग गरेकी थिइन ।

हिनामिना गरिएको चार करोड ९३ लाख रुपियाँ रकममध्ये केही घतानीको कृषि विकास बैंककै खातामा जम्मा हुने गरेको र सोवापत घतानीले गरगहना दिने गरेको र थापाले रेग्मीलाई सहयोगीको रुपमा काम गर्ने गरेको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement