आफूहरुले ५० बर्ष शासन गर्ने प्रचण्डको दावी, जनताले ह्वार ह्वारी भोट दिने आशा

Advertisement

ललितपुरः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन अब ५० वर्ष सत्तामा रहने दावी गरेका छन् । ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा आयोजित वाम गठबन्धनको चुनावी सभामा प्रचण्डले आफूहरुले चुनाव जित्ने र ५० बर्ष शासन गर्ने दावी गरेका हुन ।

उनले भने, ‘पहिलो चरणको चुनावपछि एमाले अध्यक्ष केपी ओलीजी र म सँगै बस्यौँ र छलफल गर्यौँ। ३२ जिल्लामा दुई तिहाई स्पष्ट रुपमा आइसक्यो। दोस्रो चरणको चुनावमा पनि दुई तिहाई आउछ ।’

पाँच वर्ष राम्रो काम गरेर सरकार चलाउने र पाँच वर्ष राम्रो काम गरेपछि आफूहरुलाई भोट माग्न यसरी ठूला आमसभा गर्नुपर्ने आवश्यकता नै नहुने भन्दै प्रचण्डले आफूहरुले टेलिभिजनमा बोलेकै आधारमा जनताले ह्वारह्वारी भोट दिने दावी गरे । ह्वार ह्वारती भोट ल्याएर ५० वर्ष सरकार चलाउने उनको तर्क छ ।

प्रचण्डले ललितपुरका तीन निर्वाचन क्षेत्र वाम गठबन्धनको लालकिल्ला भएको दावी गरे । यसअघि तीनै क्षेत्रमा काँग्रेस विजयी भएको थियो । ललितपुरलाई चीनको बेइजिङको संज्ञा दिँदै उनले भने, ‘नेपालका लागि ललितपुर चिनियाँ कम्युनिस्टका लागि बेइजिङ जस्तै हो। एउटा सानो भुलचुकले एकपटक पराजित हुनुपरे पनि यो हाम्रो लालकिल्लै हो।’

प्रचण्डले चुनावी सभाबाट ललितपुरका गठबन्धन उम्मेदवारलाई अग्रिम बधाई दिँदै आफूहरुले पार्टी एकताको संकल्प गरेर चुनावी तालमेल भएको त्यसमा तलमाथि नहुने बताए । उनले पार्टी एकता नभए केपी ओली, आफू र एमाले माओवादीका अन्य नेताको राजनीतिक भविष्य सकिने बताए।

चुनावी घोषणापत्र पनि एउटै भएकाले अब एमाले–माओवादी मिल्छन् भन्ने कुरामा शंका नगर्नुहोस् भन्दै प्रचण्डले वाम एकता हुँदा देश विकास भएको हेर्न चाहने कांग्रेसका केही नेता समेत खुशी भएको दाबी गरे।

ललितपुर क्षेत्र नम्बर ३ की उम्मेदवार पम्फा भुसालले ललितपुरलाई देशकै नमुना साँस्कृतिक सहरको रुपमा विकास गर्ने भन्दै पाँच वर्षभित्रमा ललितपुरका सबै सडक पिच गर्ने बताइन ।

Advertisement

Advertisement

Advertisement