नेवारी संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ आवश्यक – राष्ट्रपति

Advertisement

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको मौलिक संस्कृतिको परिचायकका रुपमा रहेको नेवाः संस्कृतिको सम्बद्र्धन र संरक्षणका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताएकी छिन् ।

ज्यापू संस्कृति विकास कोषले आज आयोजना गरेको १४औँ राष्ट्रिय ज्यापू दिवस समारोहलाई सम्बोधन गर्दै उनले नेपालको मौलिक संस्कृतिको संरक्षकका रुपमा रहेका ज्यापू समुदाय परिश्रमी रहेको बताइन् ।

उनले भनिन्, “कला, संस्कृति र भाषामा एकदमै धनी रहेका ज्यापू समुदायको कला, संस्कृति एवं भाषाको संरक्षणका लागि सबैको सहयोग र सद्भाव जरुरी छ ।”

भूकम्पका कारण क्षतिग्रस्त भएका काठमाडौँ उपत्यकाको सांस्कृतिक धरोहरको संरक्षण र पुनःनिर्माण गर्ने अभियानमा नेवार र विशेष गरी ज्यापू समुदाय सफल हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् ।

आधुनिकीकरणले नेपालको मौलिक कलासंस्कृति क्रमशः छायामा परेको हो कि भन्ने आशंका पैदा भएको भन्दै राष्ट्रपति भण्डारीले भाषा, रीतिथितिको जर्गेनामा कुनै पनि कञ्जुस्याइँ नगर्न आग्रह गरिन् ।

स्थानीय तहको निर्वाचन सकिएलगत्तै पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन यही मंसिर २१ गते शान्तिपूर्ण रुपले सम्पन्न हुने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले अब मुलुक राजनीतिक स्थायित्वसहित आर्थिक विकासको चरणमा प्रवेश गर्ने सर्वत्र महसुस गरिएको छ भनिन् ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यकाको कलासंस्कृति र भाषाको संरक्षणका लागि महानगरले अभियान नै शुरु गरिसकेको बताए ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले नेवार समुदाय कृषि, कला र संस्कृतिका धनी जाति भएको धारणा राखे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले मूर्तिकार रवीन्द्र ज्यापूलाई ज्यापू रत्न, फणिन्द्ररत्न बज्राचार्यलाई भाषा, संस्कृति सम्मान र नातिकाजी महर्जनलाई शिक्षा सम्मान प्रदान गरेकी थिइन् ।

राष्ट्रिय ज्यापू दिवस मूल समारोह समितिका संयोजक मंगलकृष्ण महर्जनले नेपाली मौलिक पहिचानसँग जोडिएको नेवारी संस्कृतिको जर्गेनाको रक्षाका लागि सबैको सहयोग जरुरी रहेको बताए ।

कार्यक्रममा ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजा र यःमरीकोसमेत प्रदर्शनी गरिएको थियो । विसं २०६१ देखि ज्यापू दिवस मनाउन थालिएको हो ।

Advertisement

Advertisement

Advertisement