एकसय ११ बर्ष पूरानो नेशनल इन्स्योरेन्सको दावी– प्रिमियम रकम भारत लाने गरेको छैन

Advertisement

काठमाडौंः नेशनल इन्स्योरेन्स कम्पनीले १११औं वर्ष प्रवेश गरेको छ । भारतमा स्थापित यस कम्पनीले ४४ वर्षदेखि नेपालमा कारोबार गर्दै आएको छ ।

नेपालमा ११ वटा शाखा एवं सेवा केन्द्रमार्फत् कारोबार गर्दै आएको कम्पनीले यस वर्ष धनगढी, दाङ, भैरहवा झापा, लाहान र गोंगबुमा नयाँ शाखा खोल्ने तयारी रहेको छ । कम्पनीका नेपालस्थित प्रमुख कार्यकारी अधिकृत डा. प्रोणव सेनका अनुसार ५३ जना बीमा अभिकर्ता रहेको नेशनल इन्स्योरेन्स कम्पनीले एक अर्ब ८० करोड रुपियाँभन्दा बढी रकम लगानी गरेको छ ।

कम्पनीले हरेक वर्ष डिसेम्बर ५ तारिखदेखि जनवरी ४ तारिखसम्म ‘स्थापना महिना’ (फाउन्डेसन मन्थ)का रूपमा मनाउँदै आएको पृष्ठभूमिमा यस वर्ष पनि ‘स्थापना दिवस महिना’ मनाएको सेनले बताए ।

मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले बीमा समितिको अनुमति लिएर छिट्टै ‘क्यास लेस’ स्वाथ्य बीमा कार्यक्रम ल्याउने तयारी गरेको उनले बताए । नेशनल इन्स्योरेन्स कम्पनीले नेपालबाट उठेको प्रिमियम शुल्क यही नै लगानी गर्दै आएको जनाएको छ । अन्य कम्पनीले जस्तै पुनर्बीमाको नाममा समेत रकम बाहिर नलैजाने गरेको उसको भनाई छ ।

सेनले भने– ‘कतिपयले हामीलाई भारतीय कम्पनी भन्दै रकम बाहिर लैजाने गरेको आरोप लगाउने गरेका छन् । तर, हामी आफैं पुनर्बीमा गर्छौं ।’ बीमाकर्तालाई ४० प्रतिशतसम्म अग्रिम बीमा दाबी रकम भुक्तानी गर्दै आएको जनाएको नेशनलले चाँडै नै तोकिएअनुसारको पुँजी पुर्याउने जनाएको छ ।

नेपालमा बीमा क्षेत्र पनि आकर्षक रोजगारीको क्षेत्र रहेको जनाउँदै सेनले भने –‘व्यवस्थापन विषयका विद्यार्थीलाई बीमा क्षेत्रमा करियर खोज्न सहजता गर्दै आएका छौं । नेपालमा बीमाको सम्भावना अत्यन्तै सुनौलो रहेको छ । ९० प्रतिशतभन्दा बीमाका निम्ति भर्जिन छ ।’
उनले आफूहरूको मुख्यालय भारतमा रहेको हुँदा बीमा समितिले तोकेअनुसार चुक्ता पुँजी पुर्याउन केही समय लाग्ने भए पनि समितिले तोकेको समय सीमाभित्रै पुँजी पुर्याउने बताए ।

बीमा समितिको नीतिअनुसार नै मंगलबार कम्पनीले दाङबाट लघु बीमाको काम सुरू गरेको सेनले बताए । ‘स्थापना दिवस महिना’का सन्दर्भमा कम्पनीले महिनाभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।

समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान स्वरुप बीमा सुविधा प्रदान गर्नेदेखि बीमाप्रति आमजनतालाई जागरुक बनाउनेलगायतका कार्यक्रम गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

जसअन्तर्गत कम्पनीले यस महिनाभर बीमा गर्ने सबै व्यक्तिगत बीमाकर्ताको (मोटर, स्वास्थ्य, गृहस्थ आदी)तर्फ एक लाख रुपियाँ बराबरको निःशुल्क बीमा गर्ने कार्यक्रम रहेको जनाएको छ ।

त्यस्तै, सशस्त्र प्रहरी बलबाट विपद् व्यवस्थापनमा सक्रिय गोताखोरहरूलाई निःशुल्क प्रतिव्यक्ति दुई लाख रुपियाँको दरले बीमा गर्ने कार्यक्रम रहेको छ । त्यसबाहेक ‘स्थापना दिवस महिना’को पहिलो साता सचेतना अभियान सञ्चालन गरिने जनाइएको छ ।

साथै, विभिन्न शिक्षालयमा गएर विद्यार्थीमार्फत् बीमासम्बन्धी जानकारी दिइने, स्टान्डर्ड चाटर्ड बैंकसँगको सहकार्यमा डिसेम्बर ९ तारिखमा ‘वाकाथन’ गरिने, यस दिवसको दोस्रो साता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, रक्तदानका कार्यक्रम गर्ने, अपांग तथा असहाय बालबालिकाका निम्ति खाना तथा खाद्यान्न वितरण गर्ने योजना पनि रहेको जनाइएको छ ।

कम्पनीले ‘स्थापना महिना’ अभियानको अन्तिम साता डाबर नेपालको सहकार्यमा विभिन्न जिल्लाका किसानलाई लघु बीमा सुविधा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

Advertisement

Advertisement

Advertisement