इन्धनको मूल्यवृद्धिसँगै हवाई भाडा यसरी बढाइयो

Advertisement

काठमाडौंः निजी क्षेत्रबाट सञ्चालित आन्तरिक उडान भर्ने वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाउने निर्णय गरेका छन् । वायु सेवा सञ्चालक संघको बैठकले सोमबारदेखि लागु गर्ने गरी आन्तरिक उडानको भाडा वृद्धि गरेको हो ।

संघको आइतबार बसेको बैठकले ४५ रुपैयाँदेखि दुई सय २० रुपियाँसम्मको भाडा बढाउने निर्णय गरेको सिम्रिक एयरलाइन्सले जनाएको छ ।

नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच रुपियाँ बढाएर ८७ रुपियाँ बनाएपछि संघले उक्त निर्णय गरेको हो । आयल निगमले इन्धनको मूल्य समायोजन गरेपछि संघले पनि हवाई भाडामा समायोजन गर्दै आइ रहेको छ ।

यात्रुलाई हवाई भाडामा वृद्दि भए पनि सेवा प्रदायकले पाउने नाफामा वृद्धि नहुने जनाइएको छ ।

काठमाडौंबाट सिमराका लागि ४५ रुपियाँ भाडा बढेको छ भने धनगढीको भाडामा दुई सय २० रुपैयाँ वृद्धि भएको बताइएको छ ।

अब सिमरा जाने यात्रुले प्रति टिकटको मूल्य तीन हजार पचास रुपियाँ खर्च गर्नुपर्ने छ भने धनगढी जान १२ हजार ३२० रुपियाँ तिर्न पर्छ ।
माउन्टेन फ्लाइटमा एक सय ७०, पोखरामा ८०, भैरहवामा एक सय ५, भरतपुरको उडानका ५५ र विराटनगरको उडानमा एक सय २० रुपियाँ बढेको छ । यसैगरी नेपालगन्जको उडानमा एक सय ६५, भद्रपुरको उडानमा एक सय ५०, जनकपुरको ६० र तुम्लिङटारको उडानमा ९५ रुपियाँ वृद्धि भएको जनाइएको छ ।

अब हवाई यात्रुले माउन्टेन फ्लाइटका लागि ११ हजार २०, पोखरा जान चार हजार ७३०, भैरहवा छ हजार ५५, भरतपुर तीन हजार५०५ र विराटनगर जान सात हजार २२० रुपियाँ तिर्नुपर्नेछ ।

यसैगरी नेपालगन्जको लागि नौ हजार ५६५, भद्रपुर जान आठ हजार ७५०, जनकपुर चार हजार १० र लुम्लिङटारका लागि पाँच हजार
७२० रुपियाँ तिर्नु पर्नेछ ।

आन्तरिक उडानमा राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्स बाहेक निजी क्षेत्रमा सिम्रिक, बुद्ध, यति, सौर्य, श्री, समिट, ताराले यात्रुलाई सेवा दिँदै आएका छन् । आन्तरिक उडानमा ४० भन्दा बढी जहाज छन् ।

Advertisement

Advertisement

Advertisement