व्यवसायीको बधाईको सिजन सुरु, चेम्बर पुग्यो ओली निवास बालकोट

Advertisement

काठमाडौंः निर्वाचनलगत्तै ठूला वा बहुमत प्राप्त दलका नेतालाई भेटेर बधाई दिने, सरकार गठनलगत्तै प्रधानमन्त्रीदेखि सरोकारवाला मन्त्रीलाई बधाई दिने निजी क्षेत्रको शैली अहिले पनि प्रारम्भ भएको छ ।

विगतमा जस्तै यस पटक पनि नेपाल चेम्बर अफ कमर्शले त्यसको श्रीगणेश गरेको छ । चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्व टोलीले भावी प्रधानमन्त्रीको रुपमा परिचित र प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा स्थापित एमाले अध्यक्ष केपी ओलीलाई भेटेर बधाई दियो ।

यो बधाई दिने क्रम प्रधानमन्त्री नियुक्तिदेखि मन्त्रीहरु बन्दासम्म जारी रहने छ । चेम्बरको टोलीले बुधबार ओली निवास बालकोटमा पुगेर प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा वामगठबन्धनले पूर्ण बहुमत ल्याएकोमा बधाई टक्र्याएको हो ।

टालीमा सहभागीहरुले बहुमतको सरकार बनेसँगै संक्रमण कालको अन्य भई स्थिर सरकार बनेर आर्थिक बिकास हुने बताए । चेम्वर अध्यक्ष श्रेष्ठले स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्वमाथि चर्चा गर्दै उनले अब बन्ने स्थायी सरकारले मुलुकको आर्थिक बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

देश संघीय संरचनामा गएसँंगै राज्य सञ्चालनका लागि धेरै खर्च आवश्यक पर्ने भन्दै त्यसका लागि आवश्यक सबै स्रोत उद्योगी व्यवसायीहरुसँंगको करमा मात्रै भर पर्न नहुने सुझाव दिए । श्रेष्ठले यसका लागि अन्य आम्दानीको स्रोत पनि खोज्नुपर्ने बताए ।

उनले छिमेकी मुलुक भारत र चीन दुवै देशलाई समदुरीमा राखेर अगाडि वढ्नुपर्नेसमेत सुझाव दिन भ्याए । प्रतिउत्तरमा ओलीले अबको एजेन्डा नै आर्थिक हुने भन्दै लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि बढाउने बताए ।

उनले करको अन्तिम भार जनतामा नै पर्ने भएकाले जनतालाई अधिक कर नबोकाउने बताए । आजै नेपाल उद्योग बाणिज्य महासंघको अर्को टोली पनि बालकोट पुगेर ओलीलाई बधाई दिएको छ । बधाईका लागि उनीहरुले यसअघि नै समय मागे पनि ओलीलाई आजलाई समय दिएका हुन ।

राजनीतिक वा सरकारी तहबाट नीति तथा कार्यक्रममा छलफल गर्न बोलाउँदा जानु स्वाभाविक भए पनि चुनाव जित्ना साथै र मन्त्री तथा प्रधानमन्त्री हुना साथै हतारिएर हरेक पटक लाभालस्कर जानुमा बढी चाकडी देखिने गरेको छ ।

Advertisement

Advertisement

Advertisement