प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न काँग्रेस तयार छः यादव, गगनले भन्दैमा देउवाले राजीनामा नदिने

Advertisement

काठमाडौंः खानेपानी तथा सरसफाईमन्त्री एवं काँग्रेस नेता महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमन पथलाई सही ढंगले डोर्याउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै सक्ने भएकोले दाहाललाई प्रधानमन्त्री स्वीकार्न आफूहरु तयार रहेको बताएका छन् ।

एमाले र माओवादी केन्द्र पार्टी एकीकरण गर्ने प्रतिवद्धतासहित चुनावी तालमेलमा गएर झण्डै दुईतिहाई बहुमत ल्याएको बेला काँग्रेस नेताको यस्तो भनाई आएको हो । रिपोर्टर्स क्लवमा बिहीबार यादवले मुलुक अग्रगमनको बाटोमा अघि बढिसकेकोले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने परिवर्तनका उपलब्धिहरु सबै गुम्नसक्ने तर्क गरे ।

उनले भने, ‘निर्वाचन भएर मुलुक संविधानको पूर्ण कार्यान्वयनको चरणमा छ, यो अग्रगमनको बाटो अब अघि बढिसक्यो, अब पछि हट्ने कुनै संभावना छैन, उत्ताउलो भएर केही चल्दैन, परिवर्तनका एजेण्डाहरुलाई संस्थागत रुपमा कार्यान्वयन गर्न पनि माओवादी केन्द्रले अब ‘गार्जियन’ को भूमिका निर्वाह गर्नुपर्छ, उहाँहरुकै कारणले संघीयता, गणतन्त्र, समावेवशीजस्ता परिवर्तनका मुद्दाहरु स्थापित भएका छन्, माओवादी एमालेको पीछलग्गु हुनुहुँदैन, किनकी एमाले त यी सबै उपलब्धिहरु गुमाउने तरखरमा छ ।’

यादवले एमालेले उपलब्धिलाई गुमाउन सक्ने आरोप लगाउँदै त्यसबाट बचाउनको लागि पनि देशको अभिभावकको भूमिकामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आउनुपर्ने बताए । उनले भने, ‘प्रचण्डजी प्रधानमन्त्री बन्नुभयो भने सबैलाई समेटेर लैजान सक्नुहुन्छ, परिवर्तनकारी उपलब्धिहरु संस्थागत हुन्छन्, उहाँबाट मात्रै यी उपलब्धिहरु रक्षा हुन सक्छन्, उहाँ आफै प्रधानमन्त्रीको रुपमा अघि बढ्नुपर्छ, हाम्रो पूर्ण समर्थन रहन्छ ।’

यादवले एमाले अध्यक्ष ओलीलाई भड्काउ नेताको रुपमा चित्रण समेत गरे । उनले थपे, ‘ओलीजी अतिवादी कुरा गर्ने नेता हो, उहाँ दुई वटा कुरा गर्नुहुन्छ, देशलाई त अहिले सबैलाई मिलाएर लैजान सक्ने नेता चाहिएको छ, त्यो भनेको प्रचण्ड हो, उहाँले मात्रै सबैलाई मिलाएर लैजान सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो ।’

नेता यादवले विगतमा प्रचण्डको भूमिकाले पनि सबैलाई समेटेर लैजान सक्ने विश्वास पैदा गरिसकेकोले अब पनि मुलुकलाई उनकै नेतृत्वमा वा अभिभावकीय भूमिकामा प्रचण्ड नै आउनुपर्ने जिकिर गरे । यादवले भने, ‘प्रचण्डजी सहनशील, अनुभवी, स्थिर, नआँत्तिने र मुलुक र जनताप्रति अति नै संवेदनशील र जिम्मेवार नेता हुनुुहुन्छ, त्यसैले उहाँ गार्जियन बन्नुपर्छ, प्रधानमन्त्री बन्नुपर्छ ।’

यादवले निर्वाचनमा काँग्रेसले पराजय भोग्नुको प्रमुख कारण नै आफूहरुले हिमाल, पहाड र तराईलाई मिलाएर लैजान खोज्नुले भएको उल्लेख गर्दै भने, ‘कांग्रेस हार्नुको प्रमुख कारण भनेको नै हामीले सबैलाई मिलाएकोले हो, हामीले कतै पनि अतिवादी कुरा गरेनौं, एमालेले पहाडको अतिवादी कुरा गर्यो, मधेशवादी दलहरुले मधेसको अतिवादी कुरा गरे, तर हामीले सबैलाई मिलायौं, यही कारणले पराजय भोग्यौं, सबैलाई मिलाउनुपर्छ भन्ने काँग्रेसको हार भयो, तर अतिवादीहरुको विजयी भयो, हामी आत्तिएका छैनौं ।’

नेता यादवले काँग्रेसभित्र अहिले बाहिर चर्चा भएजस्तो कुनै विवाद र मतभेद नरहेको समेत जिकिर गरे । उनले भने, ‘पार्टी सभापति शेरबहादुर देउवाजीको विकल्प छैन, त्यति मात्रै होइन अहिले कुनै विशेष महाधिवेशनको पनि आवश्यक नै छैन ।’

मन्त्री यादवले चुनावको समिक्षा र भावी रणनीति तय गर्नेबारे बरु छिट्टै महासमिति बैठक बस्ने र उक्त बैठकले पार्टीलाई कसरी सुधार गरेर लैजाने भन्नेबारे छलफल हुने जानकारी दिए ।

युवा नेता गगन थापाप्रति लक्षित गर्दै यादवले भने, ‘युवा भनाउँदा कुनै पनि नेताहरुले भनेजस्तो अहिले नेतृत्व परिवर्तन हुँदैन, यो उनीहरुको व्यक्तिगत विचार हो, पार्टीमा अहिले देउवाको विकल्प नै छैन, म दाबाका साथ भन्छु, अर्को महाधिवेशन नहुँदासम्म देउवाजी नै सभापति हो, गगन थापाले एक्लै हटाउने हो र ? गगन थापा मात्रै युवा होइन, म पनि त युवा नै हो नि ।’

अहिलेको चुनावमा कुनै पनि दलको स्पष्ट बहुमत नआएको उल्लेख गर्दै यादवले भने, ‘कुनैपनि दलको स्पष्ट बहुमत आएको छैन, एमालेको बहुमत आयो भनेर हल्ला फैलाइएको छ, बाम गठबन्धनको वा कम्युनिष्टहरुको दुई तिहाई आएको भनिएको छ, समानुपातिक मतपरिणामको रुझान हेर्दा काँग्रेस नै दोस्रो ठूलो दल बन्छ ।’

यादवले एमाले र माओवादी केन्द्रबीच बनेको बाम गठबन्धन धेरै लामो समयसम्म नटिक्ने समेत दाबी गरे । उनले थपे, ‘अहिले नै हेर्नुभयो भने थाहा हुन्छ, अब बन्ने प्रधानमन्त्री केपी ओली कि प्रचण्ड भन्ने विवाद छ, त्यसैले उहाँहरुको गठबन्धन धेरै लामो जाँदैन ।’

मन्त्री यादवले एकदुई दिनभित्रै गभर्नर र प्रदेश प्रमुख तोक्ने समेत जानकारी दिए । उनले भने, ‘यो सरकारले अन्तिम दिनसम्म पनि काम गर्छ, निर्णयहरु गर्छ, यहाँ कसैले केही भन्दैमा र विरोध गर्दैमा काम रोकिँदैन्, हामीले गरेका निर्णयहरु कसैलाई मन परेन भने भोलि आउने सरकारले उल्टाउन सक्छ नि, उल्टाए भैगयो नि ।’

यादवले सरकार संविधान अनुसार नै नयाँ प्रधानमन्त्री बनेपछि ह्याण्डओभर हुने भन्दै कसैलाई पनि चिन्ता नलिन आग्रह गरे । उनले थपे, ‘संविधान अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा कुल मिलाएर एक केन्द्रिय संसद बन्छ, यो पूर्ण हुनको लागि नै ४५ दिन लाग्छ, त्यतिका दिनसम्म के चुप लागेर बस्ने हो त ?’ उनले कसैको विरोधका कारण गर्भनर नियुक्ती नरोकिने समेत स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement