पार्टी एकता र सरकार निर्माण सँगै नगरे माओवादी केन्द्रले नमान्ने

Advertisement

काठमाडौंः जनताले बहुमतको स्थिर सरकार खोजिरहेको बेला सोही अनुसार वामगठवन्धनलाई झण्डै दुईतिहाई बहुमत दिएपछि माओवादीले सरकार गठन र पार्टी एकतामा निउ खोज्न सुरु गरेको छ ।

माओवादी केन्द्रका नेताहरुले सरकार गठन र पार्टी एकीकरणको काम सँगसँगै हुनुपर्ने पर्ने नयाँ बखेडा सुरु गरेका हुन । माओवादी केन्द्रका एक नेताले बिहीबार रिपोर्टर्स क्लवमा बोल्दै नेताहरुलाई सम्मानजनक स्थान हुनुपर्ने भन्दै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए माओवादी केन्द्रका अध्यक्षलाई पार्टीको नेतृत्व दिनुपर्ने संकेत गरे ।

माओवादी केन्द्रका नेता दिनानाथ शर्माले पार्टी एकता र सरकार निर्माण प्रक्रिया सँगसँगै अघि बढ्ने भन्दै थपे, ‘पार्टी एकताको लागि काम भैरहेको छ, एकताको लागि समय केही महिना लाग्छ, एक दुई महिना लाग्ला, प्राविधिक रुपमा, संगठनात्मक रुपमा व्यवस्थापन गर्न समय लाग्छ नै, अहिले साझा विधान आउँदैछ, एकताको लागि ठूलो दबाब छ, हामी विचलित हुँदैनौं, समय लाग्छ ।’

त्यस्तै उनले अबको प्रधानमन्त्री को ? अध्यक्ष को बन्ने भन्नेबारे कुनै निर्णय नभएको भन्दै सबै नेताहरु काठमाडौं फर्किएपछि मात्रै सहमतिबाटै टुँगो लगाउने जिकिर गरे । शर्माले थपे, ‘सहमतिबाटै सबै कुरा अघि बढ्छ, यस विषयमा हिजोजस्तो झगडा हुँदैन, अहिले बजारमा जे कुरा चलिरहेका छन्, ती सबै हल्लाहरु हुन, यसको पछि लाग्नुहुँदैन् ।’

मुलुकलाई स्थिरतातर्फ उन्मुख गर्न र आर्थिक समृद्धितर्फ अघि बढाउनको लागि अब बन्ने सरकारले सबैलाई मिलाएर लैजानुपर्नेमा भन्दै उनले भने, ‘सरकार र प्रतिपक्षी दल सबै मिलेर समृद्धितर्फ लैजानको लागि काम गर्नुपर्छ, कांग्रेस लामो इतिहाँस भएको पार्टी हो, तर अहिलेको यो नतिजालाई हेर्दा प्रतिपक्षमा रहने स्थिति छ ।’

शर्माले मधेसमा अहिले पनि समस्या भएकोले उक्त समस्यालाई समाधान गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, ‘मधेसमा अब मधेसवादी दलहरुको सरकार बन्छ, उहाँहरुले अब जनतालाई राहत हुनेगरि विकास केन्द्रित सर्भिस डेलीभरी गर्नुपर्छ, त्यस्तै मधेसको मुद्दा राष्ट्रको तर्फबाट सम्बोधन गर्नुपर्छ ।’ शर्माले मधेसवादी दलहरुले अब उक्त प्रदेशको विकासको लागि ध्यान दिनुपर्ने सुझाव दिए । सरकारले पनि मधेसको मुद्दालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

Advertisement

Advertisement

Advertisement