लमजुङमा अघिल्लो बर्षको तुलनामा अलैंची उत्पादन घट्यो

Advertisement

बेँसीशहरः लमजुङमा अघिल्लो वर्षको तुलनामा अलैंँची उत्पादन घटेको छ ।

मूल्य घटेर निराश भएका किसान उत्पादन पनि घटेपछि झनै चिन्तित बनेका छन् ।

अघिल्लो वर्षको तुलनामा करिब २० प्रतिशतले अलैँची उत्पादन घटेको अलैँची व्यवसायी महासंघ लमजुङले जनाएको छ । गत वर्ष ८२१ क्विन्टल अलैँची उत्पादन भएकोमा यसवर्ष ६०० क्वीन्टल अलैँची उत्पादन हुने अनुमान गरिएको महासंघका अध्यक्ष अजय तामाङले बताए ।

अलैंँचीका लागि उर्वर क्षेत्र मानिएको जिल्लाका उच्च पहाडी क्षेत्रमा उत्पादन र मूल्यमा कमी आएपछि किसान चिन्तित बनेका छन् । पुराना बिरुवा मर्दै गएकाले उत्पादनमा कमी आएको अध्यक्ष तामाङले बताए । जिल्लाका कतिपय अलैँची बगानमा सिँचाइको व्यवस्था नभएको पनि उत्पादन घटेको हो ।

गत वर्षको तुलनामा यस वर्ष अलैँचीको क्षेत्र बढे पनि उत्पादन र मूल्य घटेको छ । केही वर्षअघि लमजुङमा अलैँचीको मूल्य प्रतिकिलो दुई हजार पाँच सय थियो । सोही अलैँची अहिले प्रतिकिलो आठ सय रुपियाँमा झरेको छ ।

जिल्लाको भूलभूले, बाँझाखेत, घनपोखरा, खुदी, गैँडा, इलमपोखरी, दूधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँलगायत गाउँ पाखामा व्यावसायिक रुपमा अलैँचीखेती गरिँदै आएको छ । जिल्लाका अलैँची उत्पादन हुने क्षेत्रलाई समेटेर अलैँची जोन कार्यक्षेत्र बनाएर विशेष कार्यक्रम शुरु गरिएको छ ।

Advertisement

Advertisement

Advertisement