चिनियाँ आर्थिक विकासको चर्चा र नेपालको वास्तविकता

Advertisement

काठमाडौं: अबको चिनियाँ विकास कस्तो होला ? चीनको आर्थिक विकासले उसलाई विश्वको पहिलो अर्थतन्त्रका रुपमा कहिले र कसरी पुर्याउला ? चीनले पूर्वाधार र प्रविधिमा गरेको प्रगतिले विश्वलाई कस्तो फाइदा पुग्ला तथा उसको महत्वाकांक्षी आयोजना बिआरआइको सञ्चालन कसरी होला भन्ने विषयमा यतिखेर विश्वमा नै बहस जारी छ ।

विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण पनि विश्वमा चीनको चासो र चर्चा बढेको हो । यससँगै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्कोले गर्दा चीनको चर्चाले लगभग विश्वकै सञ्चारमा स्थान पाउने गरेको छ ।

चीनको चर्चा उसको आर्थिक विकास र समृद्धिका अतिरिक्त गत अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ काँग्रेसपछि झन चुलिन पुग्यो । राष्ट्रपति सिले अघि सार्नुभएको बिआरआइको विकासमा रफ्तार, पूर्वाधारको विकास र लगानीमा ल्याइएका नयाँ कार्यक्रम, अर्काे पाँच वर्षमा गरिने आर्थिक विकास र समग्रमा चिनियाँ माटोमा विकसित हुने समाजवादी व्यवस्थाको व्याख्या र संविधानमै सि चिनफिङवादको

व्यवस्था तथा उहाँ आगामी पाँच वर्षका लागि पुन राष्ट्रपतिमा निर्वाचित हुनुले चीनको चर्चा भएको हो ।

वास्तवमा उहाँको यो पाँचवर्षे कार्यकाल चीनको आर्थिक र प्राविधि विकासमा सफल मानिएको छ । उहाँ नेतृत्वमा आएपछि चिनियाँ अर्थतन्त्रको उच्च गतिले बृद्धि भइरहेको र विश्वका प्रभावशाली मुलुकको अग्रस्थानमा चीन रहन सफल भएको प्रतिक्रिया दिनुहुन्छ चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङ । चीनको ग्राहस्थ्य उत्पादन विश्वको दोश्रो ठूलो स्थानमा रहनेगरी उल्लेखनीय रुपमा बृद्धि भएको छ ।

चीनले चौतर्फी सुधार गरिरहेको छ र प्रजातान्त्रिक एवम् कानूनी शासनको विकास र प्रविधि तथा पर्यावरणीय रुपमा पनि ठूलो उपलब्धि हासिल गरेको उहाँको बिचार छ । उहाँ चीनले विश्वको अर्थतन्त्रको बृद्धिमा दिएको योगदान ३० प्रतिशत भन्दा बढी रहेको बताउनुहुन्छ । कुनै एक देशले गरेको यो सबैभन्दा बढी आर्थिक योगदान हो । यी उपलब्धिसँगै आगामी दिनमा चीनले विश्व शान्ति र विकासलाई अघि बढाउन अधिक प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।

सि सत्तामा आएपछि चीनको आर्थिक विकास र सामाजिक सम्बन्धको जालो संसारमा नै फैलाउन सफल हुनुभएको छ । पछिल्ला बर्षहरुमा चीनको उन्नतिका खबरहरु बढी नै आएका छन् । र विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले आगामी बर्षहरुमा विश्वको ठूलो अर्थतन्त्र बन्ने पाइला तय गर्नसक्ने अनुमानसहितका विश्लेषण पनि चीनमा मात्र नभएर संसारका विभिन्न देशबाट सम्प्रेषित हुने गरेका छन् ।

त्यसैले सि चीनका पूर्व राष्ट्रपति माओ जेदुङपछिका शक्तिशाली तथा लोकप्रीय नेताका रुपमा आफूलाई स्थापित भएको बताइन्छ । उहाँले एक समाजवादी राष्ट्रका रुपमा संसारमा चीनलाई चिनाउने आफ्नो योजनाको बारेमा नयाँ आर्थिक कार्यक्रमहरु प्रस्तुत गर्नुभएको छ ।

ती मध्येको सबैभन्दा महत्वाकांक्षी र ठूलो कार्यक्रम हो ओबिओर । यसलाई चिनियाँ आर्थिक क्रान्तिको अर्को पाटोका रुपमा पनि ब्याख्या गर्ने गरिन्छ ।
सन् २०१२ मा चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएपछि उसले वैदेशिक लगानीको मात्रामा पनि प्रगति गरेको छ । सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर छ । विगतका वर्षका तुलनामा यो निकै धेरै हो । सन् २०१२ को तुलनामा त्यसपछिका पाँच बर्षमा चीनले आर्थिक, पूर्वाधार र विज्ञान प्रविधिको विकास एवम् विश्वको अर्थतन्त्रमा पनि चीनको योगदान बढ्दै गएको बताउनुहुन्छ नेपालका लागि चिनियाँ राजदूत यु हङ । हालै राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— सिपीसीको १९ औँ काँग्रेसपछि चीन वास्तवमै नयाँ युगमा प्रवेश गरेको छ र यसले राजनीतिक, आर्थिकमात्र नभएर वैदेशिक सम्बन्धमा पनि नयाँ आयाम थपेको छ । चीन नेपाल अथवा यसका अरु छिमेकीका साथै अन्य देशहरुसँग पनि समान व्यवहार, पारस्पारिक सहयोग र साझा विकासको अवधारणाबाट अघि बढ्न चाहेको धारणा राजदूत हङको छ ।
आर्थिक विकास, औद्योगिक विकास र पूर्वाधारमा गरिने विकाससँगै चीनले देशमा गरिबी निवारणलाई प्राथमिकतामा राखेको छ । सन् २०१२ मा चीनमा गरिबी १०.२० प्रतिशत थियो भने सन् २०१६ मा यसलाई ४.५ प्रतिशतमा ल्याइएको छ । सन् २०२० मा गरिबीको मात्रा शुन्यमा ल्याउने योजना चीनले बनाएको छ । यसलाई पनि चीनको एक महत्वपूर्ण र महत्वाकांक्षी योजनाको रुपमा लिइएको छ । यसरी चीनले अबका दिनमा विकाससँगै आफ्नो समृद्धिको मार्गचित्र तय गरिरहेको छ ।

चीनले गत जुन २६ मा बेइजिङ—सांघाई चल्ने दू्रत गतिको रेलसेवाको सुरुवात गरेको थियो जुन प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्छ । रेल सेवामा यो ठूलो उपलब्धि हो । संसारकै सबैभन्दा तिब्र गतिको रेल हो यो । तर के उसले यो तिब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त ? यो अहिलेको अहम प्रश्न हो । नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको भान हुन्छ । राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन् । यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ । चीनको बिआरआइ आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो ।

यसबाट आफै र बडो सक्षम रुपमा लाभान्वित हुन सक्नुपर्छ भन्नुहुन्छ चीनको सियान युनिभर्सिटी अफ मेडिकल साइन्सका प्राध्यापक डा.राजिवकुमार झा । चीनको समृद्धिबाट लाभ लिने वा नलिने भन्नेकुरा हाम्रो क्षमतामा भर पर्छ भन्नहुन्छ उहाँ । डा. झा भन्नुहुन्छ— यत्तिको समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसी हो, तर समुद्रबाट हामीले कति पानी उभाएर लिनसक्छौँ भन्ने कुरा त हामीले नै तयगर्ने हो, उनीहरुले त नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छन् ।
नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ हुनसक्ने धारणा छ उहाँको । हामी यसैबाट समृद्ध बन्छौँ, तर हामीले अब बिआरआइको प्रारुपभित्र यो समृद्धि खोज्नुपर्ने छ— बिआरआइ आयोजनाको सफलताकालागि गठित एक चिनियाँ अर्ध सरकारी थिंक ट्यांक संस्थाका दक्षिण एसिया प्रमुख समेत रहेका डा झाको धारणा छ ।

चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ पनि चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुत गतिको रेलमा चढ्न स्वागत गरेको बताउनुहुन्छ । उहाँ नेपाली जनतासँग साझा समृद्धी र साझा प्रगतिका लागि पनि चीन तयार छ भन्नुहुन्छ । चीन नेपालको एक असल छिमेकीको नाताले नेपाल समृद्ध होस र हरेक नेपाली नागरिक सुखी र खुसी हुन भन्ने चीनले चाहेको उहाँको भनाई छ ।

यो संयोग पनि हुनसक्छ कि चीनको समृद्धि र नेपालको विकासका विषयमा नेपालका हितैषी चिनियाँहरुले यस्ता विचारहरु राखिरहँदा नेपालमा पनि चाइना रेलवे एड्मिनिस्ट्रेशनका अधिकारीहरुले केरुङ काठमाडौँ हुँदै लुम्बिनीसम्मको रेलमार्गका लागि सर्वेको काम गरिरहेका छन् ।

उनीहरुले नेपाल सरकार इच्छुक भएमा केरुङ काठमाडौँ रेलमार्ग सम्भव रहेको भन्दै यसको लागतसमेत केही दिनमात्र अघि निकालेका थिए । चीनले सन् २०२० सम्ममा उक्त रुटको रेलमार्ग पूरागर्नेगरी काम गर्न सकिने बताउदै आएको छ । नेपालको समृद्धि यही रेलमार्गमा छ । चीनबाट आएको रेल यो माथि भनिएको मार्गमा कुद्ने हो भने हामी पनि चीनको द्रुत गतिकै रेलमा सवार हुन सक्ने छौँ ।
(विभिन्न एजेन्सीहरुको सहयोगमा)

Advertisement

Advertisement

Advertisement