ओली र प्रचण्डको देउवालाई आग्रह– स–सानो नियुक्तिमा लोभ नगर, हामीलाई सरकार बनाउन देउ

Advertisement

काठमाडौंः प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याएका एमाले–माओवादी केन्द्र गठवन्धनले स–साना नियुक्तिमा लोभ गरेर आफूहरुलाई सरकार बनाउनबाट नरोक्न सत्तारुढ काँग्रेसलाई आग्रह गरेको छ ।

दुवै दलका नेताहरुले आइतबार पत्रकार सम्मेलन गरी जनादेशअनुसार आफूहरुलाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे । सरकार गठनका विषयमा सरकार र काँग्रेसले गलत व्याख्या गरेको भन्दै काँग्रेस र विशेषगरी देउवाको कडा आलोचना गरे ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सफलतापूर्वक निर्वाचन गरेको सरकारले जनमतलाई सम्मान गर्दै सत्ता हस्तान्तरण गर्नुपर्नेमा स–सानो कुरामा बखेडा सुरु गरेर सत्ता लम्ब्याउने खेलमा लागेको भन्दै देउवालाई राजीनामा दिन आग्रह सल्लाह दिए ।

सरकारले संविधानको गलत व्याख्या गरेको उनीहरुको भनाई छ । एमाले नेता भीम रावलले विज्ञप्ति पढेपछि पालैपालो बोल्दै ओली र प्रचण्डले काँग्रेसको क्रियाकलाप लोकतान्त्रिक नभएको भन्दै लोकतान्त्रिक आचरण देखाउन सल्लाह दिएका थिए ।

पत्रकार र वामठवन्धनका कार्यकर्ताले खचाखच पत्रकार सम्मेलनस्थलमा ओली र प्रचण्डले सरकार गठनमा संवैधानिकरुपमा कुनै अस्पष्टता नरहेको भन्दै देउवाबाट भइरहेका परामर्श र छलफल बन्द गर्न आग्रह गरे । दुवै नेताहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा पूर्वप्रतिवद्धताअनुसार पार्टी एकीकरण गर्न, घोषणापत्रअनुसार काम गर्न, मुलुकमा राजनीतिक स्थिरता, शान्ति र सदभाव कायम राखी राष्ट्रको सेवामा समर्पित रहन आफूहरु प्रतिवद्ध रहेको बताएका छन् ।

निर्वाचन परिणाम प्रकाशित भएपछि वर्तमान कामचलाउ सरकारबाट आएका अभिव्यक्ति र क्रियाकलापहरु नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् भन्दै विज्ञप्तिमा सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सिर्जना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादर समेत भएको उल्लेख छ ।

प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधान सम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरुप नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न देउवालाई आग्रह गरिएको छ ।

Advertisement

Advertisement

Advertisement