यसै बर्ष विपन्न वर्गमा चार अर्ब रुपियाँ लगानी पुर्याउने मेगाको लक्ष्य

Advertisement

काठमाडौंः मेगा बैंकले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपियाँ पुर्याउने भएको छ ।

मेगा बैंककी कायममुकाम प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक बर्ष २०७४–७५ को अन्तसम्ममा चार अर्ब रुपियाँ विपन्न वर्गमा लगानी गर्ने बताइन । मेगा बैंकको लघुवित्त इकाइले देशभरका ५० वटा लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतसँग गरेको अन्तरक्रिया कार्यक्रममा खुञ्जेलीले भनिन– ‘अहिलेसम्म हामीले विपन्न वर्गका लागि दुई अर्ब ४६ करोड रुपियाँ लगानी गरिसकेका छौं । बाँकी रकम पनि यसै आर्थिक वर्षको अन्त्यसम्ममा लगानी भैसक्नेमा हामी ढुक्क छौं ।’

उनले विपन्न वर्गका लागि गरेको कर्जाको असुलीमा जोखिम समेत न्यून भएकाले मेगा बैंकले लघुवित्तलाई प्राथमिकता दिएको बताइन । कार्यक्रममा लघुवित्त विज्ञ डा. नरहरि ढकालले लघुवित्त संस्थाले सञ्चालन खर्च कम गर्न सुचना प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताइन । अर्का लघुवित्त विज्ञ मेघराज गजुरेलले लघुवित्त संस्थाले कर्मचारीको उत्पादकत्व बढाउनुपर्ने बताए ।

लक्ष्मी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले विगत २५ वर्षदेखि बाणिज्य बैंकले लघुवित्त संस्थालाई गरेको थोक कर्जा सतप्रतिशत असुली भएको जानकारी दिए । थोक कर्जामा कुनै जोखिम नभएको भन्दै उनले ढुक्क भएर लघुवित्त संस्थाहरुमार्फत विपन्न वर्गमा कर्जा लगानी गर्न वाणिज्य बैंकहरुलाई आग्रह गरे ।

मेगा बैंकका लघुवित्त इकाईका प्रमुख प्रकाश पोखरेलका अनुसार लघुवित्तलाई प्राथमिकता दिने उद्देश्यले मेगा बैंकले लघुवित्त इकाइ नै स्थापना गरेको छ । मेगा बैंकका देशभर छरिएका ४७ वटा शाखामा लघुवित्त इकाइ अन्तर्गत ७५ जना कर्मचारीहरु कार्यरत छन् । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई अनिवार्य रुपमा पाँच प्रतिशत रकम विपन्न वर्गमा लगानी गर्न निर्देशन दिएको छ ।

तर, मेगा बैंकले अहिले नै करिब सात प्रतिशत लगानी गरिसकेको छ भने चालु आर्थिक बर्षको अन्त्यसम्म करिब १० प्रतिशत पुर्याउने लक्ष्य लिएको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement