काँग्रेसका एक मन्त्री भन्छन्– राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म सरकार छाडिँदैन

Advertisement

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्म प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नछाड्ने अडान लिएका छन् ।

सोमबार रिपोर्टर्स क्लबमा थापाले भने, ‘यो चुनावी सरकार हो, राष्ट्रिय सभाको निर्वाचन गर्न बाँकी नै छ, हामी निर्वाचन सम्पन्न गरेर मात्रै सरकार छाड्छौं, केयर टेकेर गर्भमेन्ट भन्नुहुन्छ भने पनि हामी केयर फुल्ली केयर गरिरहेका छौं, निर्वाचन आयोगले पूर्ण मतपरिणाम सार्वजनिक गरेको छैन् ।’

प्रधानमन्त्री देउवाले चाहेर पनि अहिले सरकार छोड्न नपाउने उनले जिकिर गरे । थापाले भने, ‘देउवाले मलाई धेरै दबाब आयो भनेर पद छोड्छु भन्न पाउनुहुन्न, ओली र प्रचण्डलाई पनि आउँछु भन्ने छुट छैन् ।’

यद्यपी उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि आफूहरुले सर्लक्कै सरकार छोड्न तयार रहेको बताए । थापाले ओली र प्रचण्डले अहिल्यै नै कुर्सी छोड भनेर देउवाको राजिनामा माग्नु दम्भ र उत्तेजनाको अभिव्यक्ति भएको समेत आरोप लगाए ।

मन्त्री थापाले सरकारले दुई महिना अघि नै राष्ट्रियसभा सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको भन्दै अहिलेसम्म नआउनु दुःखद् भएको टिप्पणी गरे । उनले भने, ‘म अहिले पनि ठण्डा भएर भन्छु राष्ट्रपतिसँग अर्को विकल्प छैन, अध्यादेश स्विकृत गर्नैपर्छ, सरकारसँग पनि अर्को विकल्प छैन् ।’

मन्त्री थापाले राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म सरकार आफूहरुले नछोड्ने उद्धघोष गरे । उनले भने, ‘निर्वाचन नगरी सुखै छैन, त्यसको लागि अध्यादेश पारित नगरी सुखै छैन, राष्ट्रियसभाको गठन नभएसम्म सरकार गठन गर्न मिल्दैन् ।’

थापाले एकल संक्रमणीय व्यवस्थाबारे पर्याप्त बहस भएको समेत जिकिर गरे । उनले थपे, ‘त्यतिबेला असंवैधानिक भनेर कतै आवाज सुनिएन, अहिले कोकोहोलो मच्याउने काम भैरहेको छ, बटारेर र बंग्याएर बहस गर्नु अनुचित हुन्छ ।’

थापाले सरकारले उक्त अध्यादेश संविधानसम्मत रुपमा राष्ट्रपतिसमक्ष पठाएको भन्दै त्यसलाई स्वीकृत गर्नुको राष्ट्रिपतिसँग विकल्प नभएको स्पष्ट पारे । उनले भने, ‘यस विषयमा मैले बिचको बाटो देखेको छैन, चक्रव्यूहमा फस्नु राम्रो कुरा होइन ।’

Advertisement

Advertisement

Advertisement