एमालेमै दुई धारः प्रम र अध्यक्ष दुवै ओली– पोखरेल, ओली प्रम भए प्रचण्ड अध्यक्ष–रावल

Advertisement

काठमाडौंः हालैको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको एमालेभित्र भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष हुने विषयमा दुई धार देखिएको छ । पार्टीका शीर्ष तहकै नेताहरु सरकारको नेतृत्व र पार्टीको नेतृत्वका विषयमा फरक धारणा आएको हो ।

पार्टी एकीकरणको प्रतिवद्धतासहित गठवन्धन बनाएर सँगै चुनाव लगेका एमाले र माओवादी केन्द्रले दुवै निर्वाचनमा दुईतिहाई नजिकको बहुमत ल्याएपछि सरकारको नेतृत्व र पार्टीको नेतृत्व कस्ले गर्ने ? भन्ने विषमया अहिले बहस जारी छ ।

दुई दिनअघि एमाले महासचिव इश्वर पोखरेलले रिपोर्टर्स क्लवमा बोल्दै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै केपी ओली हुने भन्दै यस विषयमा कुनै दुविधा नभएको बताएका थिए । सोही फोरममा सोमबार एमाले उपाध्यक्ष भीम रावलले भने ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एक एक पद बाँडफाँड हुने बताएका छन् ।

रावलले एमाले र माओवादी केन्द्रबीच एकता र सरकार गठनबारे आन्तरिक छलफल सुरु भइरहेकोले सहमतिमै सबै कुरा टुँगो लगाउने भन्दै उनले एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुवै नेतालाई आपसी मेलबाट अध्यक्ष र प्रधानमन्त्रीको भूमिका उचित किसिमबाट दिएर सन्तुलनमा राखेर अघि बढ्ने बताए ।

महासचिव पोखरेल भने अध्यक्ष र प्रधानमन्त्री दुवै पद तत्काल कुनै पनि हालतमा प्रचण्डलाई दिन नहुने पक्षमा छन् । यता रावलले भने सन्तुलनका लागि दुवैलाई मिलाएर जानुपर्ने तर्क अघि सारेका छन् । पार्टी एकता र सरकार गठनबारे दुवै पार्टीका शीर्ष नेताहरु बसेर छलफल अघि बढाइसकिएको उनले सुनाए ।

रावलले थपे, ‘हामी अहिले दुई वटा पार्टीहरुलाई एउटै बनाउने भनेर एकता प्रक्रिया सुरु गरिसकेका छौं, अबको प्रधानमन्त्री ओली बन्ने संभावना बढि छ, हामी बैठकहरु बसिरहेका छौं, संयोजन समिति निर्माण गर्ने प्रक्रियामा छौं, एकता गर्दा हामी केन्द्र, प्रदेश, जिल्ला र स्थानीयत हका पार्टी कमिटिलाई समायोजन गरेर जान्छौं ।’

राष्ट्रिय सभाको निर्वाचनको बारेमा आफूहरुले संविधान लेख्दा बहमुतका आधारमा नै गर्ने भन्नेबारे स्पष्ट रुपमा समझदारी भएको उल्लेख गर्दै रावलले भने, ‘यसका साथसाथै हामीले स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि, कतिपय बैठकमा म आँफै पनि सहभागी थिएँ, हामीले बारम्बार के भन्यौं भने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आइसकेपछि त्यो परिणामले हामीलाई प्रभावित गर्न सक्छ, हामी प्रभावित भएर यो प्रणालीमा समस्या आउन सक्छ, त्यसकारण अहिले निर्वाचनमा कसले कतिमत ल्याउँछ भनेर स्पष्ट नभएकै अवस्थामा यो कानुन बनाइहालौं भनेर बारम्बार आग्रह गरेका थियौं, तर कांग्रेस तयार भएन, मलाई आजकाल के लाग्छ भने कांग्रेस नेताहरुमा पहिल्यै नै यस पटकको निर्वाचनमा हारिन्छ कि के हो भन्ने थियो जस्तो लाग्छ, । नभए उहाँहरुले त्यतिबेला कानून ल्याउन किन मान्नुभएन् ?’

Advertisement

Advertisement

Advertisement