वामगठवन्धनको बहुमतको सरकार बन्ने पक्कापक्किसँगै चिनियाँ राष्ट्रपति नेपाल आउने तयारी

Advertisement

काठमाडौंः धेरै समयदेखि चर्चामा रहे पनि सफल हुन नसकेको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अब भने हुने संभावना बढेको छ । आउँदो मार्चसम्ममा सी नेपाल आउने गरी तयारी गरिएको छ ।

नेपाल कम्युनिष्ट दलहरुको गठवन्धनले निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने तयारी गरेको बेला चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारी बाहिर आएको हो । यसअघि धेरै पटक राष्ट्रपति सी नेपाल भ्रमणको चर्चा हुँदै सेलाउँदै आएको थियो ।

यस पटक भने आउँदो मार्चसम्म राष्ट्रपति सी नेपाल भ्रमणमा आउने कार्यकतालिका तय भएको माओवादी केन्द्रका नेताहरुले दावी गरेका छन् । नेताहरुका अनुसार राष्ट्रपति सीको नेपाल भ्रमण तयारी राष्ट्रपति कार्यालयले सुरु गरिसकेको छ ।

सरकार परिवर्तन र राजनीतिक अस्थिरताका पटक पटक स्थगित भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण यस पटक भने बहुमतको स्थिर सरकार बन्ने पक्कापक्कीसँगै सुनिश्चित हुन लागेको हो । राष्ट्रपति सीको भ्रमणको कुराले वामपन्थी दलहरुलाई एक भएर सरकार बनाउन दबाब बढेको छ ।

राष्ट्रपति सीको भ्रमणक्रममा केरुङदेखि रसुवागढी हुँदै काठमाडौं रेलमार्ग विस्तार गर्ने, तेल पाइपलाइन जोड्नेलगायत महत्वपूर्ण सम्झौताको तयारी भइरहेको समाचार अन्नपूर्णपोष्ट डटकमले उल्लेख गरेको छ । चीनलाई उपहारको रुपमा प्रदान गरिने एक जोडी गैंडा पनि सोही बेलामा प्रदान गरिने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement