टुरिजमलाई गाभ्ने प्रस्ताव मेगाले पारित गर्यो, सबैभन्दा धेरै पुँजी हुने बैंकहरुमा अब मेगा पनि

Advertisement

काठमाडौंः मेगा बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई गाभ्ने (मर्जर) प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न मेगा बैंकको विशेष साधारणसभाले टुरिजमलाई गाभ्नका लागि अनुमति दिएको हो ।

यसअघि गणपुरक संख्या नपुगेर स्थगित भएको मेगाको विशेष साधारणसभा आजलाई पुनः बोलाइएको थियो । सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहद्धारा प्रस्तुत मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

मेगा बैैंकको प्रतिशेयर मुल्य सय रुपियाँ बराबर टुरिजम डेभलपमेन्ट बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।

टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंकको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने भएको छ । चालु आर्थिक बर्ष २०७२÷७३ को हकप्रद शेयरसहित गरी मेगा बैंकको चुक्ता पुँजी सात अर्ब ५६ करोड हुनेछ भने टुरिजम बैंकको दुई अर्ब एक करोड रुपियाँ पुँजी रहेको छ । यी दुबै बैंक मर्ज भएपछि मेगाको चुक्ता पुँजी बढेर नौ अर्ब ४७ करोड रुपियाँ कायम हुनेछ ।

टुरिजमले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेकाले छिट्टै मर्जर प्रक्रिया टुंगोमा पुर्याएर मेगा बैंकलाई नयाँ गतिमा लैजाने अध्यक्ष शाहले बताए । उनी भन्छन, ‘हामीले विज्ञहरुसँगको छलफलबाट पाँच बर्षे योजना तय गरेका छौँ । आर्थिक सम्भावनाका नयाँ क्षेत्रहरु पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युतको क्षेत्रमा बैंकको मुख्य व्यवसायलाई केन्द्रीत गर्छौं ।’

मेगा बैंकका कायममुकाय प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजम डेभपलमेन्टसँगको मर्जरपछि मेगा बैंकको व्यावसायिक अवसरहरु बृद्धि हुने बताइन । उनले चालु आर्थिक बर्षमा मेगा बैंकले १८ वटा नयाँ शाखा खोल्ने जानकारी दिँदै टुरिजमसँगको मर्जरपछि मेगा बैंकको सञ्जाल ३२ वटा जिल्लाबाट विस्तारित भएर ४८ वटा जिल्लामा पुग्ने जानकारी दिइन ।

मेगा बैंकको दुई वटा एक्सटेन्शन काउन्टरसहित ४९ वटा शाखा कार्यालय छन् भने चालु आर्थिक बर्षमा टुरिजमको पाँच वटा एक्सटेन्शन काउन्टरसहित ४१ वटा शाखा पुग्दैछ । मेगा र टुरिजमको मर्जरपछि ११ वटा एक्सटेन्शन काउन्टरसहित ११२ वटा शाखा कार्यालय हुने भएका छन् । यसैगरी, कुल कुल निक्षेप ४९ अर्ब ५० करोड र कर्जा ४५ अर्ब ५९ करोड रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement