कमिशनको चक्करले ढल्केबर सबस्टेशनको थोरै काम पनि अलपत्र

Advertisement

काठमाडौंः नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्व र ठेकेदारबीचको इगोका कारण रद्द गरिएको ढल्केबर सबस्टेशनको नयाँ ठेक्का प्रक्रियामा पनि आर्थिक चलखेल सुरु भएको छ ।

लोड व्यवस्थापनका हिसावले संवेदनशील सबस्टेशनको निर्माण कार्य १० प्रतिशत पनि बाँकी नरहेको बेला ठेक्का तोडेर भारतीय कम्पनीलाई त्यसको जिम्मा दिने प्रक्रिया अघि बढाइएको छ । ठेक्का तोडिएलगत्तै भारतीय एबीबी इण्डियाका अधिकारीहरुलाई गोप्यरुपमा सबस्टेशनस्थलको निरीक्षण गराइनुका साथै उसैलाई ठेक्का दिनेगरी मंसिर पहिलो साता सिलबन्दी दरभाउपत्र माग गरिएको थियो ।

जम्मा १४ दिनको मात्रै समय दिई गरिएको सिलबन्दी दरभाउपत्रमा एबीबी इण्डिया एक्लैको प्रस्ताव हाल्न लगाइएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएपछि उक्त १४ दिने दरभाउपत्रलाई कायमै राखी प्राधिकरणले अर्को दरभाउपत्र आह्वान गरेको छ, जुन पूर्णरुपमा गैरकानुनी र बदनियतपूर्ण भएको प्राधिकरणका एक कर्मचारीले फोन गरी कर्पोरेट नेपाललाई जानकारी दिए । यस्तो दरभाउपत्र स्थानीयस्तरमा साना तिना काम गराउन मात्रै माग गर्ने नियम रहेकोमा विदेशी कम्पनीलाई गैरकानुनीरुपमा सहभागी गराउने काम भएको छ ।

उनका अनुसार अन्तर्राष्ट्रिय कम्पनीहरुले भाग लिने आइसीबीमा कम्तिमा ४५ दिनको समय चाहिनेमा १४ दिनको समय समय दिने कुराले कुनै पनि विदेशी कम्पनीले आवेदन गर्न सक्दैन् । त्यसमाथि करिव छ–सात करोडको बाँकी कामलाई २० करोड लागत अनुमान गरेर सिलबन्दी दरभाउपत्र माग गर्ने कुराले यस प्रक्रियामा कमिशनको खेल छ भन्ने कुरा पुष्टि हुन्छ । ढल्केबरको बाँकी कामको लागत अनुमान गराउने काम पनि एबीबी इण्डियाकै प्रतिनिधिहरुबाट भएको स्रोतको दाबी छ ।

पहिलो सिलबन्दी दरभाउपत्र मागमा एउटा मात्रै कम्पनी एबीबी इण्डियाले इच्छा देखाएपछि कि उसलाई ठेक्का अवार्ड गर्नुपर्ने वा सो प्रक्रिया रद्द गरेर अर्को सिलबन्दी दरभाउपत्र माग गर्नुपर्नेमा पूरानोलाई कायम राखी अर्को सिलबन्दी दरभाउपत्र माग गर्नु रहस्यमय देखिएको छ । यसअघि राहुघाट जलविद्युत आयोजनाको बोलपत्रमा भारतको जयप्रकाश इण्डिया लिमिटेडको एउटा मात्रै प्रस्ताव परेकोमा उसलाई ठेक्का अवार्ड गरिएको थियो ।

पाँच बर्षअघि नै विश्व बैंकको ऋण सहयोगमा अघि बढेको ढल्केबर सबस्टेशनको निर्माण कार्य ढिलो हुँदा भारतबाट पर्याप्त विद्युत आयात गरी नेपालको लोडसेडिङ कम गर्न कठिनाई हुँदै आएको छ । यस आयोजनाको ठेकेदार र प्राधिकरणको उच्च व्यवस्थापनबीच बर्दघाट–भरतपुर २२० केभीको ठेक्काबाट सुरु भएको मनमुटाव ढल्केबर सबस्टेशनमा समेत परेको हो ।

उक्त सबस्टेशनमा भारतीय भित्री चासो र स्वार्थ भइरहेको बेला चिनियाँ कम्पनी सेन्ट्रल पावर ग्रीड चाइना (सीपीजीसी)बाट ठेक्का सोखेर सबस्टेशनको संवेदनशील कामको ठेक्का भारतीय कम्पनीलाई दिन लागिएको हो । धेरै पहिलो नै सम्पन्न भइसक्नुपर्ने यो काम ठेकेदार र प्राधिकरण नेतृत्वबीचको झगडा, कमिशनको खेल, भारतीय स्वार्थका कारण अन्योलमा पर्दै आएको छ । सीपीजीसीले प्राधिकरणको निर्णयविरुद्ध अदालतमा समेत मुद्दा दर्ता गरेको छ ।

सामान्यता एउटालाई दिएको ठेक्कामा अर्को ठेकेदार कम्पनीले हात हाल्न नरुचाउने भए पनि एबीबी इण्डियाले भने यसमा पहिलेदेखि नै चासो देखाउँदै आएको थियो ।

Advertisement

Advertisement

Advertisement