नौ घण्टापछि ग्यास उद्योगको आगो नियन्त्रणमा, घटनाबारे छानविन गर्न समिति गठन

Advertisement

पर्सा: सुपर ग्यास प्रालि उद्योगमा लागेको आगो नौ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगञ्ज उपमहानगरपालिकाको वडा नं २३ सुगौली विर्तामा रहेको सुपर ग्यासमा आज बिहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजे मात्रै नियन्त्रणमा लिन सकिएको होे ।

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सीमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

उनले फायर एक्स्टिंग्युजरको सहयोगमा स्थानीय बासिन्दाले उद्योगभित्र रहेका ग्यास बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायनयुक्त बारुणयन्त्रको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार ग्यास उद्योग नजिकैको खेतबाट दुई व्यक्तिको शव फेला परेकोे छ र मृतकको परिचय खुल्न सकेको छैन ।

वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्कविहीन भए पनि मृतक उनीहरु नै भएको भन्ने यकिनका साथ भन्न नसकिने उनले बताए ।

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण तत्काल यकिन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ ।

उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एलपिजी ग्यास अनलोड गर्ने क्रममा ग्यास चुहिएको र सोही ग्यासलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुणयन्त्रको इञ्जिनबाट आगो सल्की आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगो निभाउन पुगेको बारुणयन्त्रका अग्नि नियन्त्रक मधुसूदन मिश्र र यादवप्रसाद अधिकारी सम्पर्कविहीन रहेका छन् भने उक्त घटनामा परी बारुणयन्त्रका चालक अरुणकुमार महतो र अग्नि नियन्त्रक संजीव नेपाल गम्भीर घाइते भएका छन् ।

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँैे लगिएको र उनीहरुको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

आज बिहान ४ः३० बजेको समयमा उद्योगका कर्मचारीले भारतबाट ल्याइएको खाना पकाउने ग्यासलाई उद्योगको मूल भण्डारण गर्ने ट्यांकीमा अनलोड गर्ने क्रममा ग्यास चुहिएको अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement