विद्युत कटौति बढेको बेला प्राधिकरणले भन्यो, 'यो लोडसेडिङ होइन प्राविधिक समस्या हो'

Advertisement

काठमाडौंः विगत केही दिनदेखि हरेक दिन विद्युत कटौति भइरहेको बेला नेपाल विद्युत प्राधिकरणले यसलाई लोडसेडिङ नभई प्राविधिक समस्या भनेर टारेको छ । प्राधिकरणले सामाजिक सञ्जालमा आएका समाचार सत्य नभएको भन्दै घोषित वा अघोषितरुपमा कुनै पनि लोडसेडिङ नगरेको जिकिर गरेको हो ।

अहिले औद्योगिक ग्राहकलाई दैनिक तीन घण्टाबाहेक अन्य ग्राहकलाई कुनै प्रकारको लोडसेडिङ नगरिएको भन्दै प्राधिकरणले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्राविधिक समस्याका कारण कहीं कतै केही बेरसम्म विद्युत आपूर्तिमा अवरोध आएको अवस्थामा समेत यस्ता समस्या देखिनासाथ प्राधिकरणले तत्काल प्राविधिक टोली खटाएर समस्या समाधान गरी विद्युत आपूर्ति सुचारु गरिरहेको छ । यसका साथै आपूर्तिमा गुणात्मक सुधार ल्याउन ग्राहकहरुको मागलाई समेत मध्यनजर गरी फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाइ समग्र विद्युत बितरण प्रणालीलाई सदृढीकरण गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार देशैभरि काम भइरहेको जानकारी गराउँदछौं ।’

पछिल्ला केही दिनबाहेक राजधानी काठमाडौंमा प्राधिकरणले विद्युत कटौति नगरे पनि बाहिरका जिल्लाहरुमा भने अघोषितरुपमा एक–डेढदेखि चार–पाँच घण्टासम्म लोडसेडिङ गर्दै आएको छ । बीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा पनि प्राधिकरणले भनेभन्दा बढि लोडसेडिङको भन्दै व्यवसायीहरुले विरोध जनाउँदै आएका छन् ।

प्राधिकरणका अनुसार हिउँद लागेसँगै खोला तथा नदीमा पानीको वहाव घट्दा विद्युत उत्पादनमा कमी आउने तर विद्युत माग बढ्ने हुँदा हामीसँग उपलब्ध सीमित उत्पादनले विद्युत माग र आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण हुँदा हुँदै पनि उचित व्यवस्थापन गरी विद्युत आपूर्तिलाई सकेसम्म सहज बनाउन प्रतिबद्ध रहेको जनाएको छ ।

लोडसेडिङको चुनौतीको सामना गरी आम ग्राहकलाई उज्यालो दिन गत वर्षझै यस वर्षको हिउँदमा लोडसेडिङ न्यूनीकरण गर्न विद्युत माग र आपूर्ति व्यवस्थापनको योजना तथा कार्यक्रम बनाएर कार्यान्वयन गरिरहेको भन्दै प्राधिकरणले आफ्नो बचाउ गरेको छ ।

यतिखेर विद्युत उच्च मागको समयमा प्राधिकरणले आफ्ना जलविद्युत आयोजनाहरुबाट ३७२ मेगावाट (९२ मेगावाटको कुलेखानी बाहेक), निजी क्षेत्रबाट २२० मेगावाट र भारतबाट ३७२ मेगावाट गरी कूल ९६४ मेगावाट विद्युत आपूर्ति गरिरहेको छ भने नपुग करिब ३०० मेगावाटका लागि औद्योगिक ग्राहकको हकमा उच्चतम् विद्युत माग हुने समयमा मात्र करिव तीन घण्टा विद्युत कटौती गर्नु परेको प्राधिकरणको विज्ञप्तिमा उल्लेख छ ।

यस वर्षको हिउँदको विद्युत मागको व्यवस्थापनका लागि प्राधिकरणले आफ्नो स्वामित्वमा रहेका विद्युत गृहको कुशलतापूर्वक उच्चतम् सञ्चालन, निजी क्षेत्रको उत्पादन र अपूग विद्युत विगतमा झैं भारतबाट आयात गर्ने योजना बनाएको जनाएको छ । भारतबाट आयात भइरहेको विद्युत घटौति भएको र आउँदो जनवरी महिनाबाट उसले बिजुलीको भाउ बढाएर मात्रै दिनसक्ने स्पष्ट संकेत गरेकाले सम्झौता नवीकरणमा समेत अन्योल भइरहेको बेला भारतबाट बिजुली ल्याएर लोडसेडिङ गर्न प्राधिकरणलाई त्यति सहज छैन ।

हिउँदयामको विद्युत आपूर्तिको लागि नेपाल आत्मनिर्भर भई नसकेको अहिलेको अवस्थामा बिगतमा झैं विद्यमान नेपाल–भारत प्रसारण लाइन संरचनाहरुबाट सहजरुपमा विद्युत आपूर्ति भई नै रहेको र यसको निरन्तरताको लागि भारत सरकार र सम्बन्धित नियकायहरुबाट प्राधिकरणले सहयोग पाइरहेको भन्दै प्राधिकरणले विद्युत चोरीलाई निरुत्साहित गर्दै माग बढी हुने साँझ र बिहान विद्युत खपत बढी गर्ने हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्पलगायतका विद्युतीय उपकरण प्रयोगमा नल्याएर आग्रहसमेत गरेको छ ।

Advertisement

Advertisement

Advertisement