विधान अनुसार पार्टी चल्न नसक्दा राम्रो नतिजा आएन- सिंह

Advertisement

काठमाडौँ: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकिएको बताएका छन् ।

नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँले प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ मा विजयी आफूलाई यहाँ आज ‘बधाई तथा सम्मान’ दिन राखेको कार्यक्रममा नेता सिंहले पार्टी संस्थागत ढंगले चल्न नसक्दा पराजय भोग्नुपरेको बताउनुभयो । पूर्वमहामन्त्री सिंहले जनतालाई पार्टी मन परे पनि नेतृत्व मन नपरेका कारण धेरै स्थानमा हार व्यहोर्नुपरेको विचार व्यक्त गर्दै भने, “पार्टीभन्दा नेता र व्यक्ति ठूलो हुन सक्दैन, त्यसैले पार्टीमा सुधार आवश्यक छ ।” पार्टीभित्र पदाधिकारी, केन्द्रीय सदस्य र विभागले पूर्णता पाउन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो ।

ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले काँग्रेस मजदुरको जगमा उभिएको पार्टी भएकाले मजदुरको समस्या समाधानका लागि पार्टीले विशेष चासो दिनुपर्नेमा जोड दिए ।

ट्रेड युनियन काठमाडौँका अध्यक्ष गणेश भट्टराईले श्रमिकको अधिकार स्थापना गर्नका लागि आफूहरु सधैँ क्रियाशील रहेको र संस्थालाई पनि पार्टीको सहयोग आवश्यक रहेको बताए ।

Advertisement

Advertisement

Advertisement