काबेली करिडोर नबन्दा ५७ मेगावाट विद्युत् खेर जाने

Advertisement

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा विद्युत् उत्पादनको तयारीमा रहेका तीनवटा आयोजना समस्यामा पर्ने भएका छन् ।

कूल ५७ मेगावाट क्षमताका तीन आयोजना आगामी चैतसम्म सम्पन्न हुने चरणमा छन् । प्राधिकरणले प्रसारण लाइन निर्माणको काममा चासो नदेखाएको र निर्माण व्यवसायीलाई प्रभावकारीरुपमा काम लगाउन नसक्दा विद्युत् खेर जाने अवस्था आएको भन्दै उद्यमीले गुनासो गरेका छन् ।

झापाको पाडाजुँगीदेखि पाँचथरको अमरपुरसम्म ९० किमी लामो उक्त प्रसारण लाइन तीन खण्डमा बाँडेर निर्माण शुरु भएको हो । पहिलो खण्ड गोदक–दमक सञ्चालनमा छ भने दुईवटा खण्ड हाल निर्माणाधीन छ ।

आर्थिक वर्ष २०६२/६३ देखि शुरु भएको सो प्रसारण लाइन सम्पन्न हुन सकेको छैन । जग्गाको मुआब्जा वितरण, वनको स्वीकृतिलगायत समस्याले प्रसारण लाइनको निर्माण अवरुद्ध छ । सो करिडोरमा हाल २५ मेगावाट क्षमताको काबेली ‘बी’ एक, माउण्टेन हाइड्रोले प्रवद्र्धन गरेको २२ मेगावाटको तल्लो हेवाखोला र रैराङ हाइड्रोपावरले निर्माण गरेको १० मेगावाटको इवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा रहेको छ । ती आयोजनाबाट कूल ५७ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

काबेली ‘बी’ एकको लगानी चार अर्ब ३० करोड रुपियाँ, तल्लो हेवाको लगानी चार अर्ब रुपियाँ तथा इवा खोलाको लगानी एक अर्ब ६० करोड रुपियाँ रहेको छ । काबेली ‘बी’ एकको करिब ९८ प्रतिशत काम सम्पन्न भएको छ । सो आयोजनाका प्रमुख रमेशप्रसाद पोखरेलले आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगे पनि प्रसारण लाइनको अभावमा विद्युत् खेर जाने स्थिति निम्तिएको गुनासो गरे ।

प्राधिकरणले १३२ केभी क्षमताको काबेली करिडोर प्रसारण लाइन निर्माण गर्न नसक्दा समस्या भएको उनको भनाइ छ । तर काबेली करिडोर निर्माणको जिम्मा लिएको भारतको एस्टर एण्ड ज्यागुरले निर्माण कार्यलाई प्राथमिकतामा नराखेको निजी ऊर्जा उद्यमीले गुनासो गरेका छन् । उनीहरुले प्राधिकरणले ठेकेदारलाई प्रभावकारीरुपमा काममा लगाउन नसकेकामा आपत्ति जनाएका छन् ।

काबेली ‘बी’ एक आयोजना अरुण काबेली जलविद्युत् आयोजनाले निर्माण गरेको आयोजना हो । सो आयोजनाका प्रमुख पोखरेलले प्राधिकरणले काबेली करिडोर प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा समस्या परेको बताए । पेनस्टक पाइप मेशिन जडानको काम भइरहेको छ भने आयोजना निर्माण सम्पन्न हुन लागे पनि प्रसारण लाइनको अभावमा समस्या भएको छ ।

कूल २२ मेगावाट क्षमताको तल्लो हेवा खोला निर्माण सम्पन्न हुने चरणमा छ । सो आयोजना आगामी चैतको अन्तिमसम्म निर्माण सम्पन्न हुने आयोजना प्रमुख गणेश सुब्बाले जानकारी दिए । स्थानीय थापाटारमा रहेको प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भए पनि प्रसारण लाइन निर्माणमा समस्या देखिएको छ । निजी ऊर्जा उद्यमीले प्राधिकरणले प्रसारण लाइन निर्माणमा सधैँ समस्या मात्रै देखाउने र समस्या समाधानमा चासो नदेखाएको गुनासो गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष शैलेन्द्र गुरागार्इंले प्राधिकरणले ध्यान नदिँदा निर्माण सम्पन्न हुने चरणमा रहेका आयोजना समस्यामा परेको बताए । निर्माण व्यवसायीलाई काम गराउन नसक्नुको कारण खोजी गर्न र निजी ऊर्जा उद्यमीले पनि थप सहजीकरण गरेर प्रसारण लाइन निर्माणमा लाग्नुपर्ने अध्यक्ष गुरागाईको भनाइ छ ।

निजी उद्यमीले पटक पटक प्राधिकरणलाई छिटो प्रसारण लाइन बनाइदिन आग्रह गरेको भए पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । तर प्राधिकरणले भने प्रसारण लाइन निर्माणको काम भइरहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले समस्या सहजीकरण गर्न कार्यकारी निर्देशक कुलमान घिसिङले आवश्यक निर्देशन दिइसकेको जानकारी दिए । प्राधिकरणले स्थानीय प्रशासनले काममा सहयोग नगरेको गुनासो गरेको छ ।

प्रसारण लाइनको ‘राइट अफ बे’मा पर्ने जग्गाको मुआब्जा वितरणमा स्थानीयवासीले चित्त बुझाएका छैनन् । जसका कारण २२ वटा टावर निर्माणमा समस्या पैदा भएको छ । प्राधिकरणले पाँचथरका प्रमुख जिल्ला अधिकारीसँग जग्गाको मुआब्जाको विषयमा देखिएको समस्या समाधान गरिदिन आग्रह गरिसकेको छ । तर काम किन शुरु हुन नसकेको हो सो बारेमा प्राधिकरणले स्पष्ट जानकारी दिन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement