जलविद्युतदेखि नेपालको ठूलो गाइफार्ममा लगानी गरेको लालीगुराँसले अब डेरी प्रशोधन केन्द्र सञ्चालन गर्ने

Advertisement

काठमाडौंः श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सरकारलाई चार करोड ७१ लाख ९७ हजार रुपियाँ राजश्व बुझाएको छ । संस्थाको शनिबार सम्पन्न १८औं बार्षिक साधारणसभामा गत बर्ष गरेको मुनाफाका आधारमा सरकारलाई उक्त रकम बुझाइएको हो ।

पुल्चोकस्थित यस संस्थाले गएको आर्थिक बर्षमा नौ करोड ७१ लाख ४६ हजार मुनाफा आर्जन गरेको थियो । पुल्चोकस्थित यस संस्थाले सरकारलाई राजश्व बुझाउनेमा सहकारी संस्थाहरुमा आफू अग्रणी रहेको जनाउँदै सेयरधनीहरुलाई १५ प्रतिशत मुनाफा दिने निर्णय गरेको छ ।

ललितपुरको चापागाउँ, काठमाडौंको चावहिल र भक्तपुरको कौशलटारमा सदस्य सुविधा काउन्टरसमेत सञ्चालन गर्दै आएको लालीगुराँसले गएको आर्थिक बर्षमा आफ्नो कारोबार आठ दशमलव २१ प्रतिशतले बढाएर पाँच अर्ब २३ लाख पुर्याएको छ ।

त्यसैगरी, गएको आर्थिक बर्षमा निक्षेप ६ दशमलव ७६ प्रतिशत वृद्धि गरी चार अर्ब १८ करोड, ८६ लाख, कर्जा ११ दशमलव ७५ प्रतिशतले वृद्धि गरी तीन अर्ब ४० करोड, ८ लाख, सेयर पुँजी १७ दशमलव १८ प्रतिशतले वृद्धि गरी ३७ करोड ५५ लाख रुपियाँ पुर्याउन सफल भएको छ ।

जलविद्युत, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी गरेको लालीगराँसले सिन्धुपाल्चोकमा तीन मेगावाटको भैरवकुण्ड जलविद्युत आयोजना बनाउनुका साथै चितवनको खैरहनीमा नेपालको संभवतः सबैभन्दा ठूलो गाई पालन परियोजना सञ्चालन गर्दै आएको छ । त्यसबाहेक लालीगुराँस अस्पताल, कलेज, व्यापारिक फर्म सञ्चालन गर्दै आएको यो संस्थामा हजारौं सदस्यहरु आवद्ध रहेका छन् ।

साधारणसभामा संस्थाका प्रवन्ध सञ्चालक सुरेन्द्र भण्डारीले आउँदो बर्षमा डेरी प्रशोधन केन्द्र सञ्चालन गर्ने र लालीगुराँसलाई नमुना सहकारीको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए ।

उनले सहकारीलाई हेर्ने सरकारी दृष्टिकोण ठिक नरहेको भन्दै सहकारीले कृषि, पशुपालन, औद्योगिक उत्पादन जस्ता क्षेत्रमा लगानी गर्न कानुनी समस्या रहेको बताए । भण्डारीले सहकारी अभियानले दिएको सुझावविपरित सरकारले सहकारी क्षेत्रलाई संकुचित गर्नेगरी सहकारी ऐन, २०७४ जारी गरेकोमा असन्तुष्टि जनाए ।

शहरी विकास मन्त्री दिलनाथ गिरीले सहकारीले ग्रामीणदेखि शहरी क्षेत्रमा समेत आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा योगदान दिएको भन्दै ठूलो र उत्पादनमूलक परियोजनाहरुमा समेत सहकारीको लगानीलाई परिचालन गर्न सकिने बताए ।

सहकारी क्षेत्र अर्थतन्त्रको एउटा आधारमा रुपमा राज्यले स्वीकार गरिसकेकोले यस क्षेत्रको विकास र काम गर्ने सहज बाताबरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । गिरी विभिन्न क्षेत्रमा लगानी गरेर लालीगुराँसले आफ्नो क्षमता र योगदान प्रस्तुत गरेको बताए ।

Advertisement

Advertisement

Advertisement