कर्मचारीहरुको आन्दोलनले किष्ट मेडिकल कलेज ठप्प

Advertisement

ललितपुरः ग्वार्कोस्थित किष्ट मेडिकल कलेज टिचिङ हस्पिटलका नर्सहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

किष्ट मेडिकल कलेजका नर्स र प्यारामेडिक्स सहितका कर्मचारी आन्दोलनमा उत्रिएपछि विगत १० दिन यता बिरामी भर्ना बन्द गरिनुका साथै भएका सबै बिरामीलाई समेत डिस्चार्ज गरिएको छ ।

अस्पतालले आपतकालिन सेवा खुला राखे पनि त्यस्ता बिरामीका लागि आवश्यक इमरजेन्सी एक्सरे सेवा, प्रयोगशाला, आइसियू सेवाहरु बन्द हुँदा आएका बिरामीहरुले समेत उपचार नपाउने अवस्था रहेको छ ।

आन्दोलन गर्ने कर्मचारीहरुले आइपाइ आएको तलवमा आठ हजार वृद्धि गर्नुपर्ने, कर्मचारीहरुको उपचारमा सत प्रतिशत र कर्मचारीहरुका आमाबुबा छोराछोरीलाई ९० प्रतिशत छुट गर्नुपर्ने, रात्रीकालिन सेवा गर्ने कर्मचारीहरुलाई दुईसय रुपियाँ भक्ताको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु रहेको छ ।

कर्मचारीहरुले आन्दोलनले एमबीबीएस अन्तिम बर्षका विद्यार्थीहरुको परीक्षासमेत प्रभावित हुने देखिएको छ । दुई हप्ता पछि एमबीबीएस अन्तिम बर्षको प्रयोगात्मक परीक्षा हुन लागेकोले बिरामी नै नभएपछि उक्त परीक्षाका कार्यक्रमसमेत रद्द गरिएको छ ।

आन्दोलनकारी कर्मचारीहरुले भने आफूहरुका माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् । उनीहरुले लामो समयसम्म आफूहरुका मागप्रति व्यवस्थापनले बेवास्ता गरेको भन्दै अब माग पूरा नभएसम्म शान्तिपूर्ण धर्ना जारी राख्ने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement