तल्लो मोदी–१ ले पाँच प्रतिशत लाभांश वितरण गर्ने

Advertisement

फलेवास, पर्वत: पर्वतको कुश्मा नगरपालिका–८ मा सञ्चालित तल्लो मोदीखोला–१ जलविद्युत् आयोजनाका शेयर धनीलाई पाँच प्रतिशत लाभांश वितरण गरिने भएको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने तयारी गरेको हो । कूल पुँजीको रु पाँच करोड ७५ लाख वितरण गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजनाको हाल कायम रहेको चुक्ता पुँजीको पाँच प्रतिशत लाभांश दिने निर्णय भएको कम्पनीका कार्यकारी निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

पर्वतमा १० मेगावाटको तल्लो मोदीबाट २०६९ मंसिरदेखि विद्युत्को व्यापारिक उत्पादन शुरु भएको हो । साधारणसभामा आयोजनाका अध्यक्ष सुकुन्तलाल हिराचनले आयोजनाले व्यापारिक उत्पादन शुरु गरेको छ वर्षमा लक्ष्यअनुसार नै आम्दानी दिएको दाबी गरे ।

आव २०७२÷७३ मा बाढीका कारण साढे चार महिना विद्युत् आपूर्ति बन्द हुँदा सो आवको उत्पादन निकै कम भए पनि आयोजनाले बीमा गरेकाले ठूलो क्षति व्यहोर्नु नपरेको बताइएको छ । उक्त आवमा आयोजनाले बीमाबापत रु १९ करोड सात लाख पाएको थियो ।

अघिल्लो आव २०७२÷७३ मा रु १४ करोड ७१ लाख आम्दानी भएको आयोजनामा गत आवबाट ७७ प्रतिशत वृद्धि भएर रु २८ करोड १४ लाख आम्दानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा रु एक करोड ३५ लाख ६४ हजार खुद नाफा गरेको कम्पनीले गएको आवमा रु चार करोड ८८ लाख ४८ हजार खुद नाफा कमाएको थियो ।

चालू आवको पहिलो तीन महिनासम्म कम्पनीले रु चार करोड १८ लाख ८१ हजार खुद नाफा कमाएको छ । कम्पनीले समीक्षा अवधिमा रु नौ करोड ७१ लाख ३३ हजारको विद्युत् बिक्री गरेको जानकारी दिएको छ ।

उक्त कम्पनीले निकट भविष्यमै तल्लो मोदी–२ सञ्चालन गर्ने योजनासमेत अघि सारेको छ । अहिलेको आयोजनाभन्दा तल तल्लो मोदी–२ निर्माण गर्ने र यसका लागि जग्गा अधिग्रहणलगायतका काम भइरहेको कार्यकारी निर्देशक गौतमले जानकारी दिए ।

 

Advertisement

Advertisement

Advertisement