अन्ना क्यासिनोका पीडित मजदुरहरुद्धारा आफूहरुलाई अन्याय नगर्न अन्नपूर्ण होटललाई चेतावनी

Advertisement

काठमाडौंः दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सञ्चालित क्यासिनो अन्नाका सयौं मजदुरहरुले आफूहरुको अहिलेसम्मको तलव सुविधा नदिई अर्को क्यासिनो सञ्चालन नगर्न होटल व्यवस्थापनलाई आग्रह गरेका छन् ।

शनिबार होटल परिसरमा भेला भएका उनीहरुले आफूहरुले काम गर्दै आएको क्यासिनोलाई सुनियोजित ढंगबाट भत्काएर मजदुरहरुलाई बिचल्ली बनाइएको र सो क्यासिनोका कर्मचारीहरु आफूहरु कायम हुँदाहुँदै अर्को कम्पनीलाई क्यासिनो खोल्न दिने काम रोक्न चेतावनीसमेत दिएका छन् ।

पर्यटन विभागलाई नयाँ क्यासिनो खोल्न नदिन दिएको पत्रको बोधार्थ बुझाउन गएका मजदुरहरुको पत्र होटल व्यवस्थापनले भने बुझन नमानेको मजदुरहरु गुनासो पोखे ।

अन्नपूर्ण होटलकी सञ्चालक सिर्जना राणाले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजुको आडबलमा प्राइड नामकको नयाँ क्यासिनो खोल्न प्रयास गर्दै आएकी छन् ।

पत्र बुझाउन झण्डै तीनसय भन्दा बढि क्यासिनोका मजदुरहरु भेला भएका थिए । यता होटलले भने उनीहरुलाई रोक्न ठूलो संख्यामा प्रहरीहरुलाई तैनाथ गराएको थियो । नेपालका क्यासिनोहरुको वास्तसिक सञ्चालक आरडी टटललाई हटाइएपछि मालिक बनेकाहरुले सरकारलाई राजश्व नबुझाउनुका साथै कर्मचारीहरुलाई दिनुपर्ने सेवा सुविधासमेत नदिई लुकिछिपी बन्दै आएका छन् ।

शनिबार भेला भएका अन्ना क्यासिनोका मजदुरहरुले अदालतमा मुद्दा विचाराधिन हुँदाहुँदै अर्को क्यासिनो खोल्ने तयारी गरिएको भन्दै आफूहरुले साँस रहेसम्म खोल्न नदिने बताए । होटलले आगाडिको भवनमा नयाँ क्यासिनो सञ्चालनका लागि पूर्वाधारहरु तयार गरिरहेको छ ।

मजदुरहरुलाई नेतृत्व गर्दै आएका क्यासिनो अन्नका एक कर्मचारी भन्छन, हिजोसम्म राजनीतिकरुपमा हामी विभाजित भए पनि अब एक भएर लड्नुपर्ने बाध्यता भएको छ । हामीले अहिलेसम्म गरेको श्रमको मूल्य नदिई अर्को क्यासिनो खोल्न दिने भन्ने कुरा संभव छैन् । हामी होटलदेखि सम्वन्धित सबै निकाय र दलहरुको ढोकामा पुगेर भए पनि आफ्नो अधिकारका लागि लड्छौं ।

मजदुरहरुले पीडितहरुलाई न्याय नदिई अर्को क्यासिनो खोल्ने तयारी गरेर अर्को अन्याय गर्न खोजको भन्दै उक्त पत्र मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल ट्रष्ट, जिल्ला प्रशासन कार्यालयलगायतका स्थानमा बुझाइसकेको छ ।

तत्कालिन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि उक्त पार्टीको मजदुर संगठनले क्यासिनोका वास्तविक मालिक आरडी टटललाई नेपालबाट धपाएर भारतीय राकेश बाधबालाई मालिक बनाएका थिए । उनले राजस्व बुझाउन र कर्मचारीहरुलाई नियमत तलव नदिएपछि प्रहरीले उनलाई पक्राउ सुचीमा राखेको थियो ।

पक्राउ परिने डरले बाधवा भागेपछि क्यासिनोहरुमा नयाँ नयाँ अनुहारहरु मालिक बन्दै आए पनि उनीहरुले कर्मचारी व्यवस्थापन र कर चुक्त गर्नेतर्फ ध्यान दिएनन् । प्रहरी प्रशासन र नेताहरुले पनि समस्या समाधान गर्ने भन्दा नयाँहरुबाट आर्थिक लाभ लिएर समस्यालाई झन बढाउने काम गर्दै आए ।

क्यासिनो अन्नाका कर्मचारीहरुको मात्रै ३२ करोड रुपियाँ भन्दा बढि बक्यौता रहेको छ भने करोडौं रुपियाँ राजश्व बुझाउन बाँकी छ । यसअघि मालिकहरुले आफूहरुको कल्याणकारी कोषको पैसासमेत खाएर भागेको मजदुरहरु बताउँछन् ।

Advertisement

Advertisement

Advertisement