पोखरामा पुस १३ गतेदेखि सडक महोत्सव आयोजना हुने

Advertisement

काठमाडौंः रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेबान) पोखराले यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखरामा १९औँ पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । स्वदेशी खानाका परिकारका साथमा सांस्कृतिक रहनसहनको प्रदर्शन तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न रेबान पोखराका अध्यक्ष चौबहादुर गुरुङको संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति तथा महोत्सव तयारीका लागि विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सव पोखराको मुख्य पर्यटकीयस्थल शहीद चोकदेखि खहरे डिहिकोपाटनसम्मको करिब साढे तीन किलोमिटर क्षेत्रमा आयोजना गरिने संयोजक गुरुङले बताए । पोखराका रेस्टुरेन्ट व्यवसायीले सडकमै विभिन्न खानाका परिकार पस्कने हुँदा महोत्सवबाट समग्र पोखराको आर्थिक क्रियाकलापलाई टेवा पुग्ने उनको विश्वास छ ।

रेबानका अध्यक्ष प्रमोदकुमार जैसवाललगायतले आन्तरिक तथा विदेशी पर्यटक आकर्षणका लागि महोत्सव उपयोगी हुने बताए । महोत्सवको मुख्य आकर्षणका रुपमा सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, नेपालका सात प्रदेशका लोपोन्मुख सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिनेछ । त्यसैगरी भारत, चीन, जापान र दक्षिण कोरियाका सांस्कृतिक प्रदर्शनी समेत प्रदर्शन गरिनेछ ।

महोत्सवका क्रममा विभिन्न मनोरञ्जनात्मक खेलकुद, हस्तकला, वृत्तचित्र प्रदर्शनी, विभिन्न जिल्लाका उत्पादित कृषि जन्य पदार्थको प्रदर्शनी गरिनेछ । कार्यक्रमस्थलमा नेपाल मेडिसिटी अस्पतालका चिकित्सकबाट स्वास्थ्यसम्बन्धी जानकारी तथा मधुरोग जाँच निःशुल्क गरिनेछ । ख्यातिप्राप्त राष्ट्रिय कलाकारको लाइभ कन्सर्ट र लोक दोहोरी प्रस्तुति रहने बताइएको छ । महोत्सवको प्रवद्र्धक नेपाल पर्यटन बोर्ड रहेको छ ।

Advertisement

Advertisement

Advertisement