एक किसानको गुनासो– सरकारले बजार व्यवस्था नगर्दा मेरो १५ हजार टन माछा मर्यो

Advertisement

काठमाडौंः बजार अभावका कारण पाण्डे कृषि फर्म नुवाकोटका १५ टन भन्दा बढी माछा मरेको उक्त फर्मको सञ्चालक युवराज पाण्डेले गुनासो पोखेका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरेर गुनासो पोखेका हुन् ।

पाण्डेले भने, ‘मैले सरकारसँग सोधेरै यो व्यवसाय गरेको हुँ, माछा उत्पादनको जिम्मा लिएको पहिलो वर्ष र दोस्रो वर्षमा दुःख मात्रै पाइयो, पछिल्लो वर्षमा निक्कै दःुख गरेर माछा उत्पादन गरियो तर आजको दिनमा सरकारले बिषादियुक्त माछाहरु बजारमा खुलेआम बेच्ने वातावरण बनाई दिएको छ, हामीले पोखरीमा उत्पादन गरेको माछालाई उपयुक्त बजार नदिने गर्नाले यस्तो दुरदिनको शिकार हुनुपरेको छ ।’

तत्काल सरकारले पोखरीको माछालाई उपयूक्त बजार दिन नसके आफू आमरण अशसन बस्ने उनले चेतावनी दिए । पाण्डेले भने, ‘मेरो तीन पुस्ता ऋणको एउटै चिहानमा पिसिनुपर्ने बाध्यता आएको छ, अहिले मेरो पोखरीमा ४० टन जिउँदा माछाहरु छन्, १५ टनभन्दा बढि माछा मरिसकेका छन्, यस्तो स्थिति आइलाग्दा मैले आत्महत्या गर्नुको विकल्प छैन ।’

उनले थपे, ‘मेरो त तीन पुस्ते अब हामी एउटै चिहान हुनेभयांै, एक कार्टुन माछा बोकेर आएको छु, तपाईले खाईदिनुस र सरकारसमक्ष मेरो दुःखलाई सुनाइ दिनुहोस् ।’ ५३ वर्षीय पाण्डेले आफ्नो पैत्तृक सम्पति र बैंकबाट लोन गरि दुई करोड बढिको लगानी गरेको सुनाए ।

पाण्डेले माछा पालनको र बिक्रीको लागि कालिमाटी बजार र कुलेश्वर बजार लगायतका सबै बजार धाएपनि कर्चा कमिशनले गाँजेको दुखेको पोखे । कमिसनले नेपाललाई बिहार एक चौक बनाएको प्रतिक्रिया दिदै पाण्डेले भने, ‘सरकारले २०३० सम्म नेपाललाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ, अहिले हामीलाई विस्थापित गर्दैछ, भारतका माछा तराईको एक पोखरीमा राख्ने र नेपाली माछा, विषरहित माछा भन्दै बिक्री गरेका छन्, यस्तो पाराले सरकार २०३० होइन २०६० सालसम्म पनि परनिर्भर भएर बाँच्नुपर्ने हुन्छ ।’

विषादीयुक्त माछामा झिंगा नभन्किने र विषादीरहित माछामा झिंगा भन्किने भन्दै उनले ग्राहकलाई विषादीरहित माछा सेवन गर्न अनुरोध गरे । पाण्डेले माछा मरेको विषयमा जिल्ला कृषि कार्यलय नुवाकोटमा यही पुष ३ गते निवेदन दिएको भएपनि यसबारेमा उपयुक्त कदम नचालेकोमा दुःख व्यक्त गरे ।

उनले ६० लाख बैंकबाट ऋण लिएको र ५४ लाखको दाना खुवाई सकेको बताउँदै ब्याज तिरेर पछिल्लो पुस्तालाई ऋण नबोकाई मर्ने वातावरण निर्माण गरिदिन सरकारसँग माग गरे ।

Advertisement

Advertisement

Advertisement