सम्झौता नवीकरण नगरे भारतबाट विद्युत आयात रोकिने, गर्दा भाउ बढ्ने करिव निश्चित

Advertisement

काठमाडौंः भारतले ढल्केबर–मुजफरपुर प्रसारण नाकाबाट नेपाललाई सहुलियत दरमा उपलब्ध गराउँदै आएको १४५ मेगावाट विद्युत आयातको सम्झौता नवीकरण गर्न नेपाल विद्युत प्राधिकरणको टोली बुधबार दिल्लीतर्फ लागेको छ ।

नेपालको लोडसेडिङ समस्या कम गर्न भन्दै भारतले प्रतियुनिट भारु तीन रुपियाँ ६० पैसाको दरमा उपलब्ध गराउँदै आएको बिजुलीको भाउ यसअघि नै बढाउन खोजे पनि नेपाली पक्षको आग्रहका कारण यही डिसेम्बरसम्म अन्तिम पटक भनेर तीन महिनाको लागि सम्झौता नवीकरण गरिएको थियो ।

यसअघि छ–छ महिनाको नवीकरण गर्ने गरिएकोमा अन्तिम पटक भन्दै तीन महिनाको लागि मात्रै सम्झौता गरिएको हो । प्राधिकरणले भने आउँदो माघसम्म अहिलेकै सहुलियत दरमा बिजुली दिन भारतको एनबीबीएनलाई आग्रह गरेको छ । एनबीबीएन विद्युत व्यापार गर्ने भारत सरकारको नोडल एजेन्सी हो ।

बिहारका विभिन्न नाकाबाट भने भारतले प्रतियुनिट भारु पाँच रुपियाँ ८५ पैसामा विद्युत आयात गरिरहेको छ । अदालतको आदेशपछि भारत सरकारले फर्नेस आयल (थर्मल प्लान्ट) र पेट्रोलियम कोक बन्द गर्न बाध्य भएको छ । जसका कारण भारतमा विद्युत अभाव बढेको छ भने उसले नेपाललाई दिँदै आएको विद्युतसमेत कटौति गरेको छ ।

पूरानै मूल्यमा भारतले विद्युत दिने संभावना न्यून रहे पनि सम्झौता नवीकरण नगर्दा १४५ विद्युत आयात बन्द भई नेपालमा लोडसेडिङको ठूलो समस्या सिर्जना हुने भएपछि प्राधिकरणको टोली सम्झौता नवीकरण गर्न बाध्य भएर दिल्ली गएको हो ।

गत साता ज्वाइन्ट स्टेरिङ कमिटिको बैठक एकपक्षीयरुपमा नेपालले स्थगित गरेपछि भारत रुष्ट भएको थियो । एनबीबीएनले यसअघि नै पूरानो मूल्यमा विजुली दिन नसक्ने भनेर प्राधिकरण र उर्जा मन्त्रालयलाई पत्र पठाइसकेपछि प्राधिकरणले पुनः माघसम्म पूरानै मूल्यमा विजुली दिन आग्रह गरेपछि भारतले सम्झौता नवीकरणमा चासो दिएको थिएन ।

भारतले सम्झौता नवीकरणका लागि चासो नदिए पनि सम्झौता नवीकरणको विकल्प नभएकाले प्राधिकरणको टोली बाध्य भएर दिल्ली गएको हो । वामपन्थी सरकार गठन हुन लागेको बेला असहयोग गरेको ठहरिने ठानेर भारत सरकारले नै पूरानो मूल्यमा विजुली दिन एनबीबीएनलाई निर्देशन दिएको अवस्थामा मात्रै पूरानो मूल्यमा सम्झौता नवीकरण हुनसक्ने अन्यता भाउ बढ्ने प्राधिकरणका एक कर्मचारीले बताए ।

उनले पेट्रोलियम पदार्थमा जस्तो स्वचालित मूल्य प्रणाली जस्तै विद्युत आयात निर्यातमा पनि एउटा प्रणालीको विकास नगरे नेपालले सधैं भारतसँग भीख मागे जसरी विद्युत आयात र निर्यात गर्नुपर्ने भन्दै त्यसका लागि प्राधिकरणको एक्लो प्रयास भन्दा पनि उर्जा मन्त्रालय र उच्च राजनीतिक नेतृत्वले नै यसमा ध्यान दिनुपर्ने बताउँछन् ।

सम्झौता नवीकरण गर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रवक्ता प्रवल अधिकारीलगायत आज बिहानै उठेर दिल्ली गएका हुन ।

Advertisement

Advertisement

Advertisement