कालीगण्डकी करिडोरमा थप बेलिब्रिज चाँडै

Advertisement

बागलुङः कालीगण्डकी करिडोरको बागलुङ, जैमिनी नगरपालिका–८ स्थित लौहाखोला ‘बेलिब्रिज’ निर्माण डेढ महिनामा पूरा हुने भएको छ । उक्त पुल बनेपछि बागलुङ–गुल्मीखण्डमा वर्षायाममा पनि यातायातका साधन सञ्चालनमा आउने छन् ।

यसअघि गत असोजमा बागलुङ खण्डमा तीनवटा तथा गुल्मी खण्डमा एउटा ‘बेलिब्रिज’ निर्माण भई सञ्चालनमा आएका छन् । नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले लौहा खोला ‘बेलिब्रिज’ निर्माणसँगै सडक सुधारको काम भइरहेको जनाएको छ ।

नेपाललाई चीन र भारतसँग जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरमा मार्ग खुलेसँगै सार्वजनिक यातायात सञ्चालनमा छ । लौहाखोला ‘बेलिब्रिज’ बन्नासाथ वर्षामा पनि नियमित यातायात चल्ने कार्यदलका प्रमुख इन्जिनियर रेश्मीराज भट्टराईले बताए । “तीन करोड रुपिँयामा बन्ने ‘बेलिब्रिज’ डेढ महिनामा पूरा हुन्छ, अहिले तीव्र गतिमा काम भइरहेको छ”, उनले भने ।

करिब ३० मिटर लम्बाइको उक्त पुल निर्माणपछि अहिले ‘डाइभर्सन’ गरेर सञ्चालनमा आएको सो सडकको दूरी घट्ने छ । बागलुङ–गुल्मीखण्डको विभिन्न भागमा सडक चौडा बनाउने र स्तरोन्नतिका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । नेपाली सेनाले ठूला पुल बनाउन बजेट र समय धेरै लाग्ने हुँदा मार्ग खुलेका ठाउँमा तत्काललाई ‘बेलिब्रिज’ हाल्ने गरेको छ ।

आगामी वर्षायाममा पनि करिडोरलाई सञ्चालनमा राख्न खोलामा पुलको कुनै समस्या नहुने इन्जिनियर भट्टराईको भनाइ छ । जैमिनी नगरपालिका–१ स्थित ठेउलेखाला, वडा नं ७ को जैदीस्थित चौँरीखोला, वडा नं ८ छिस्तीको पालुङखोला र गुल्मीको कालीगण्डकी गाउँपालिका–५ स्थित गौदीखोलामा ‘बेलिब्रिज’ निर्माण भइसकेको छ ।

करिडोरको मर्मत, सुधार र स्तरोन्नतिका लागि थप एक अर्ब रुपिँया बजेट आवश्यक पर्ने निर्माण कार्यदलले जनाएको छ । गुल्मीको रिडीदेखि बागलुङको मालढुङ्गासम्मको ८५ किमी मार्ग खोल्दा एक अर्ब तीन करोड रुपिँया खर्च भएको इन्जिनियर भट्टराईले बताए । तीन सय ४५ किमीको करिडोरको पूरै मार्ग खुले पनि दक्षिणी नाका सुनौलीदेखि उत्तरी नाका कोरलासम्म लामो दूरीमा यातायात सञ्चालनमा छैन । बीच–बीचमा सार्वजनिक सवारी साधनले यात्रुलाई सेवा दिइरहेका छन् ।

जैमिनी नगरपालिकादेखि बुटवलसम्म भने नियमित बस सञ्चालनमा आइसकेको छ । करिडोर खुलेपछि सो मार्ग भएर रुपन्देही, पाल्पा, गुल्मी र बागलुङका पर्यटकीय तथा ऐतिहासिकस्थल घुम्नेको संख्या बढ्दो छ । स्थानीय उत्पादनको बजारीकरणले आर्थिक गतिविधि बढाएको छ ।

कच्ची सडक जतिसक्दो छिटो स्तरोन्नति गरी कालोपत्र गर्न सके करिडोर देशकै महत्वपूर्ण सडक मार्गको रुपमा विकास हुने देखिन्छ । सडक विभागले काममा ढिलाइ गरेपछि सरकारले चार वर्षअघि करिडोरको मार्ग खोल्ने जिम्मा सेनालाई दिएको थियो । व्यापार, पारवहन र सामरिक दृष्टिले महत्वपूर्ण मानिएको कालीगण्डकी करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ ।

Advertisement

Advertisement

Advertisement