कामचलाउ सरकारले गरेका सबै गैरकानुनी नियुक्तीहरु नयाँ सरकारले बदर गरेरै छाड्छः ज्ञवाली

Advertisement

भक्तपुरः एमालेसचिव प्रदिप ज्ञवालीले आउँदो माघ पहिलो साता केपी ओलीको नेतृत्वमा वामगठबन्धनको सरकार निर्माण हुने बताएका छन् ।

रफत सञ्चार क्लबमा बिहीबार ज्ञवालीले एमाले र माओवादीबीच पार्टी एकीकरणका विषयमा बृहत छलफल भइरहेको भन्दै सरकार गठन लगत्तै पार्टी एकीकरण हुने बताए । पार्टी एकीकरणमा कुनै शंका नगर्न आग्रह गर्दै उनले अब बन्ने सरकार स्थायी सरकार हुने दावी गरे ।

अहिलेको काम चलाउ सरकारले गरेका सबैखाले निर्णय र नियुक्तीहरु गैरकानूनी र नैतिकता विपरित रहेको भन्दै ज्ञवालीले भने, ‘यो सबै गलत काम हो । नयाँ सरकारले काम चलाउ सरकारले अहिले गरेका निर्णय सबै बदर गरेरै छाड्ने छ ।’

शेरबहादुर देउवा नेतृत्वको सरकारले गोरखापत्र संस्थानदेखि चलचित्र विकास बोर्डसम्म विभिन्न विवादास्पद नियुक्तिहरु गरेको छ । एमालेका अन्य नेताहरुले पनि कामचलाउ सरकारले गरेका यी सबै नियुक्ति बदर गरिने यसअघि बताइसकेका छन् ।

नेता ज्ञवालीले अहिले सरकारमा जाने टोलीमा क्षमता र योग्यताका आधारमा राम्रो व्यक्तिहरु जाने भन्दै यदि उक्त टोलीले जनताको चाहाना अनुसार काम गर्न नसकेको अबस्थामा हेरफेर गर्न सकिने पनि बताए ।

जनताको अभिमतबाट तल परेको काँग्रेसले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पाँच बर्षका लागि प्रधानमन्त्री बन्न भनि राखेको प्रस्ताव राजनीतिक कुसंस्कार र देशमा अस्थिरता कायम गर्ने खेल भएको आरोप लगाए ।

कामचलाउ सरकारका प्रधानमन्त्री देउवाले राखेको उक्त प्रस्ताव अध्यक्ष प्रचण्डले अस्वीकार गरेको उनले बताए । ज्ञवालीले राष्ट्रिय सभाको अध्यादेश राष्ट्रपतिले अहिले नै प्रमाणिकरण गर्नुपर्ने बाध्यता नरहेको बताए ।
सरकार गठन र अध्यादेश फरक पाटो भएकोले अध्यादेश प्रमाणिकरणमा राष्ट्रपतिलाई दबाब दिन नहुने उनको भनाई छ । ज्ञवालीले निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिक तर्फको मत परिणाम तत्काल सार्वजनिक गर्नुपर्ने बताए ।

सचिव ज्ञवालीले समग्र भूगोल, जनसंख्या र जनभावना अनुसार प्रदेश राजधानी प्रदेश सभाले नै तोक्नुपर्ने बताए । उनले राजधानीका लागी भौतिक पुर्वाधार भएको स्थान अथवा नयाँ ठाउँलाई विकास गर्ने भन्ने बिषयमा छलफल भइरहेको बताए ।

Advertisement

Advertisement

Advertisement