तरलता समस्या चाँडै सम्बोधन गर्न परिसंघको आग्रह, नत्र उद्योगधन्दा र निर्यात चौपट हुनसक्ने

confederation-of-nepalese-industries-cni

काठमाडौंः नेपाल उद्योग परिसंघले बजारमा देखिएको तरलता अभावको समस्या सम्बोधन गर्न माग गरेको छ । परिसंघले शनिबार विज्ञप्ति जारी गरी बंैकिङ प्रणालीमा देखिएको तरलता समस्या समाधान नगरे उद्योगधन्दा धरासायी हुने चेतावनी पनि दिएको छ ।

तरलता समस्या सिर्जना भएको घटनालाई आफूले निकै गंभीरताका साथ नियालिरहेको भन्दै परिसंघले यस संकटले गर्दा बंैकिङ प्रणालीबाट प्रवाहित कर्जाको ब्याजदरमा नाटकीय ढंगले वृद्धि भई बढ्दो ब्याजदरले उत्पादन लागत वृद्धि हुने, उद्योग र व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने, निर्यात हतोत्साहित हुने, आयात तीव्र गतिले बढ्ने र समग्र लगानीमा संकुचन आउने प्रवल संभावना रहेको ठहर छ ।

घट्दो लगानीले कूल गार्हस्थ उत्पादन, रोजगारी र आर्थिक गतिविधिमा शिथिलता आउने तथ्यलाई गम्भीरतापूर्वक मनन गरी यस समस्यालाई संबोधन गर्न नेपाल राष्ट्र बंैकबाट नीतिगत सुधार जरुरी रहेको परिसंघको भनाई छ ।

गत २०७३ असोजमा देखिएको तरलता समस्यापछि नेपाल राष्ट्र बंैकको पहलबाट ब्याजदर बन्छित सीमामा आई तरलताको समस्या केही समाधान भएकोमा पुनः यो समस्या देखिनुमा संरचनात्मक र नीतिगत तहमै परिवर्तन गरिनुपर्ने आवश्यकता रहेको परिसंघको भनाई छ । उसले दीर्घकालिनसम्म व्यवसायीले पूर्वानुमानको आधारमा उद्योग व्यवसाय निर्वाध ढंगले गर्न सकियोस् भन्ने ढंगले राष्ट्र बैंकको उचित नीतिगत निर्णयको अपेक्षा गरेको छ ।

मुलुकलाई आवश्यक पुँजी अर्थव्यवस्थामा लगानी गर्न सके देशले परिलक्षित गरेबमोजिम दीगो, फराकिलो र उच्च आर्थिक विकाश हासिल गर्न सक्ने हुदाँ हालको तरलता समस्या सम्बोधनमा सरकार, अर्थ मन्त्रालय, राष्ट्र बंैकले ठोस कदम चालि दीर्घकालीन रुपमा उद्योग व्यवसायमैत्री मौद्रिक नीति तथा उपकरणको माध्यमबाट समस्या सम्बोधन हुनुपर्ने परिसंघको भनाई छ ।