जटिल रोगका औषधि उत्पादन गर्ने उद्योगलाई सुविधा दिन्छौंः स्वास्थ्यमन्त्री

Advertisement

काठमाडौंः सरकारले औषधिमा आत्मनिर्भर हुन स्वदेशी औषधि उत्पादकलाई सहुलियत दिने तयारी गरेको जनाएको छ । औषधिमा भइरहेको आयातलाई विस्थापन गर्दै ब्यापार घाटा कम गर्न सहुलियत दिने सरकारले तयारी गरेको स्वास्थ्यमन्त्री दीपक बोहराले बताए ।

औषधि व्यवसायी महासंघ वाग्मतीको साधारणसभामा शनिबार उनले आइसीयु तथा मुटुका बिरामीलाई चाहिने औषधि र औषधिजन्य पदार्थ उत्पादन गर्नेलाई सरकारी सुविधा दिने जानकारी दिए । बोहराले भने, ‘नेपाली औषधि उत्पादकलाई सरकारले सहुलियत दिने भनिसकेको छ । तर गुणस्तरीयतामा कम्प्रोमाइज गर्न पाउनुहुन्न ।’

उनले स्वदेशी उत्पादनलाई अझै प्रोत्साहन दिंदै नेपाली औषधिलाई सर्वसुलभ बनाइने जानकारी दिए । त्यसका लागि कतिपय नीतिगत कुराहरु गरिसकिएको भन्दै आगामी सरकारले त्यसलाई भत्काउन नसक्ने दावी गरे ।

मन्त्री बोहराले मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई मासिक पाँच हजार रुपियाँका दरले दिने भनिएको जिविकोपार्जन भत्ता सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमबाटै पुग्ने दाबी गरे । उनले भने, ‘कार्यविधिमै सुर्तीजन्य पदार्थको करको २५ प्रतिशत रकमको छुट्टै कोष खडा गर्ने भनिएको छ ।’

नेपालमा करिव १८ हजार बिरामी मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीबाट पीडित रहेको तथ्यांक छ । नेपाल औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले सरकारले सहयोगी भए औषधि धेरै सस्तो गर्न सकिने बताए ।

उनले भने, ‘औषधि सस्तो गर्न नारा मात्रै होइन, सरकार र व्यवसायीबीच समझदारीको वातावरण हुनुपर्छ ।’ औषधि उत्पादक संघका अध्यक्ष दीपक दाहालले नेपाल औषधिमा ४० प्रतिशत मात्रै आत्मनिर्भर रहेको बताउ“दै नेपाली औषधिहरुको गुणस्तरीयतामा कसैले प्रश्न उठाउन नसक्ने दाबी गरे ।

औषधि व्यवसायी संघ बागमतीका अध्यक्ष निरञ्जनप्रसाद रिसालले आत्मनिर्भरताका नाममा गुणस्तरीयता र मूल्यमा भने सम्झौता गर्न नहुने धारणा राखे ।

Advertisement

Advertisement

Advertisement