पेट्रोलियम पदार्थको मूल्य समायोजन, खाना पकाउने ग्यासमा २५ रुपियाँले वृद्धि

Advertisement

काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आज साँझ बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपियाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपियाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपियाँ बढाइएको गोइतले जानकारी दिए ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०२ रुपियाँ पर्ने छ । डिजेल र मट्टितेलको एक लिटरको मूल्य ७९-७९ रुपियाँ पुगेको छ ।

खाना पकाउने ग्यास एक सिलिण्डर किन्दा १ हजार ३ सय ७५ रुपिया तिर्नुपर्ने छ । हवाई इन्धन आन्तरिकमा ३ रुपियाँ बढेर ९० रुपियाँ प्रतिलिटर पुगेको छ ।

नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनका पनि प्रति ब्यारेल ५० डलर बढाएर ९ सय डलर बनाइएको छ ।

नयाँ मूल्य सोमबार मध्यरातिदेखि लागू हुनेछ । मूल्य समायोजन गरेपछि निगमको मासिक घाटा घटेर २६ करोड ४० लाखमा झरेको प्रवक्ता गोइतले जानकारी दिए ।

अहिले निगमलाई पेट्रोलमा भने लिटरको २ रुपियाँ ८३ पैसा नाफा छ । तर, ग्यसमा प्रतिसिलिन्डर २ सय ८ रुपियाँ घाटा छ । डिजेलमा पनि निगमलाई २ रुपियाँ ७१ पैसा नाफा छ ।

तराईमा तेलका हकमा यो मल्य भन्दा प्रतिलिटर १ रुपियाँ ५० पैसा र पोखरा तथा दाङमा ५० पैसा कम पर्छ । दिपायल, सुर्खेत र काठमाडौंको मूल्य भने एउटै हुने निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement