यस पटक तराईलाई काँग्रेसमुक्त पारियो, अर्को पटक पालो एमाले र माओवादीकोः यादव

Advertisement

काठमाडौंः राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले १२ वर्षपछि आफ्नो पार्टी राजपा र संघीय समाजवादी फोरम मिल्दा यो वर्षको निर्वाचनमा सफलता हात परेको जिकिर गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लवमा उनले भने, ‘हामीलाई जनताले यो पटक २ नम्बर प्रदेशमा सम्मानजनक बहुमत दिएका छन्, यो हाम्रो ठूलो सफलता हो ।’ यादवले २ नम्बर प्रदेशमा मधेसवादी दलहरुको नै सरकार बन्ने पनि दाबी गरे ।

उनले राजपा र फोरमबीच मुख्यमन्त्री कसलाई बनाउने ? भन्नेबारे कुनै विवाद नभएको पनि जिकिर गरे । यादवले भने, ‘ठूलो दलको तर्फबाट मुख्यमन्त्री बन्ने भन्नेबारे हाम्रो पहिल्यै नै सहमति भएको थियो, सोही अनुरुप फोरमबाट मुख्यमन्त्री बन्नुहुन्छ ।’ यद्यपी उनले राजपा र फोरमबीचको एकता हेर्न नचाहने मुख्य राजनीतिक दलहरुले मुख्यमन्त्रीमा विवाद छ भनेर अफावाह फैलाउने काम गरेको पनि आरोप लगाए ।

त्यस्तै यादवले आफूहरुको मुख्य उद्देश्य भनेको संविधान संशोधन भएकोले सोही अनुसार आफूहरु अघि बढ्ने जिकिर गरे । यादवले भने, ‘मधेसमा सरकार बनाउँछौं, हाम्रा मागहरु सम्बोधन गर्नको लागि संविधान संशोधनको एजेण्डा उठाउँछौं र समग्र मधेसको विकासबारे हाम्रो ध्यान जानेछ ।’

उनले अब बन्ने सरकार संविधान संशोधनबारे कसरी प्रस्तुत हुन्छ त्यसको गुण र दोष हेरेर मात्रै सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे निर्णय लिइने जानकारी दिए । यादवले अहिले सरकारमा जानेबारे कुनै संभावना नरहेको बताए ।

उनले आफूहरुले उठाएका मुद्दाहरु हल गरे सरकारमा जानेबारे पूर्नविचार गर्नेपनि विश्वास दिलाए । यादवले विभेदकारी संविधान संशोधनको लागि आफूहरुले संघर्ष गर्ने पनि बताए । यादवले आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सामान्य छलफल भएको स्वीकार गरे ।

उनले भने, ‘उहाँसँग मेरो सामान्य छलफल भएको हो, तर कुनै गम्भीर छलफल भएको छैन् ।’ यादवले आफूहरुले कसैलाई प्रधानमन्त्री बनाउने वा नबनाउने भन्नेबारे कुनै निर्णय नलिएको पनि स्पष्ट पारे ।

उनले थपे, ‘तर एमालेले विगतमा हाम्रो मुद्दा सम्बोधन गरेन्, हाम्रो मुद्दा कसले एड्रेस गर्छ, सोही अनुसार निर्णय लिन्छौं ।’ यादवले मधेसमा कांग्रेसमुक्त भएको उल्लेख गर्दै भने, ‘हामीले यसपटक काँग्रेसलाई मधेसबाट परास्त गरेका छौं, अब भविष्यमा एमाले र माओवादीलाई पनि पत्तासाफ गर्छौं, मधेसमा अब काँग्रेस उठ्नै सक्दैन्, एमाले पनि अहिले प्राइभेट लिमिटेड बनिसक्यो ।’

Advertisement

Advertisement

Advertisement