जुत्ता मेलामा साढे दुई करोडको कारोबार, मंगलबारसम्ममा ९० हजारले भ्रमण गरे

Advertisement

काठमाडौँ: फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।

यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो ।

‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट, ब्याग र चप्पलको स्टल राखिएको थियो ।

प्रदर्शनीमा सर्वसाधारणदेखि सरकारका मन्त्री, उच्च पदस्थ कर्मचारी तथा पूर्वमन्त्री समेतले अवलोकन गरेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको रुपमा स्वदेशमै गरिएको रबर खेती एवं उत्पादन तथा अपांगमैत्री जुत्तासमेत राखिएको र कुल १३५ बिक्रीकक्ष रहेको सञ्चार संयोजक नवराज भट्टराईले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी, ब्रह्मटोल उपशाखाअन्तर्गत महिला रक्त व्यवस्थापन समितिले मेला अवधिभर आयोजना गरेको रक्तदान कार्यक्रममा ११२ पिन्ट रगत संकलन भएको उक्त समितिका संयोजक राज्यलक्ष्मी शाक्यले जानकारी दिए ।

प्रदर्शनीलाई व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासंघले सहयोग गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए ।

सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए ।

Advertisement

Advertisement

Advertisement