सर्वदलीय बैठकमा एमाले कड्कियो, सत्ता हस्तान्तरणमा भएको ढिलाईप्रति आपत्ती

Advertisement

काठमाडौंः प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा वाम गठबन्धनका नेताहरुले ठोस सल्लाह नदिएपछि अब सरकारले आफैँ गृहकार्य गरी त्यसबारे निर्णय गर्ने भएको छ ।

सो विषयमा छलफल गर्न आज प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएका सर्वदलीय बैठकमा वाम गठबन्धनले सरकारले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रियसभाको निर्वाचनका विषयमा पनि बैठकमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकपछि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताए । उनले राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरी निर्णय गर्ने जानकारी दिए ।

नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गर्ने तथा प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएकामा आफूहरुले गम्भीर ध्यानाकर्षण गराएको जनाए ।

उनले भने, “हामीले निर्वाचनअगावै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न आग्रह गर्दा सरकारले सुनेन, अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानूनी काम सरकारले चाँडो पूरा गरोस्, अन्य दीर्घकालीन महत्वका निर्णय तथा सरुवा बढुवा नगरोस् भनेर स्पष्ट राखेका छौँ ।” उनले आयोगलाई सरकारले नै दबाब दिएर परिणाम रोकाएको आरोप लगाए ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले पनि निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि कुनै ढिलाइ आफूहरुलाई सैह्य नहुने अवगत गराएको जानकारी दिए ।

बैठकमा काँग्रेसका सभापति देउवा, बरिष्ठ नेता पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, काँग्रेस नेताहरु विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरु सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, माओवादी नेताहरु श्रेष्ठ, रामबहादुर थापा बादल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलगायत सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement