राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

Advertisement

काठमाडौंः नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने महिला तथा पुरुष टोलीले एक लाख ५० हजार रुपियाँ, दोस्रो हुनेले रु एक लाख तथा तेस्रोले ६० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट घोषित हुने खेलाडीले जनही १५ हजार रुपियाँ पाउनेछन् भने उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सरभर र प्रशिक्षकलाई जनही पाँच हजार रुपियाँ प्रदान गरिनेछ ।

प्रतियोगितामा महिलातर्फ नौ तथा पुरुषतर्फ १२ टोलीको सहभागिता रहनेछ । पुरुषतर्फ आठ र महिलातर्फ ६ टोलीलाई छनोट गरी आगामी चैत÷वैशाखमा हुने राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितामा सहभागी गराइने नेपाल भलिवल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

उक्त प्रतियोगिताको मुख्य प्रायोजक नेपाल स्याटलाइट टेलिकम प्राइभेट लिमिटेल कम्पनी हुनेछ । कार्यक्रममा मुख्य प्रायोजक कम्पनीकी अध्यक्ष अस्मिता सुमार्गी र भलिबल संघका अध्यक्ष शर्माले भलिबल खेलमा कम्पनीले दुई वर्षसम्म प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार भलिबल खेलको लागि कम्पनीले ४० लाख रुपियाँ सहयोग गर्नेछ । सोही कार्यक्रममा उक्त क्लब च्याम्पियनसिपका लागि कम्पनीले पहिलो किस्ताबमोजिम १० लाख रुपियाँको चेक संघलाई प्रदान गरेको थियो ।

Advertisement

Advertisement

Advertisement