काठमाडौंः नेपालको फर्निचर बजारको ५० प्रतिशतभन्दा बढि बाहिरबाटै आयात हुँदै आएको तथ्य सम्वन्धित व्यवसायीहरुले खुलासा गरेका छन् । नेपाल वनसम्पदामा धनी भए पनि यसबाट उत्पादित बस्तुहरु भने बाहिरबाट आयात गर्नुपर्ने बाध्यता अझै रहेको हो ।
नेपाल फर्निचर तथा फर्निसिग व्यवसायी महासंघको शनिबार सम्पन्न तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन उदघाटनका क्रममा वक्ताहरुले मुख्यतया चीन, भारत, सिंगापुर, मलेसियालगायतका देशबाट यस्ता सामग्री आयात गरिने गरेको जानकारी दिए ।
उनीहरुका अनुसार वार्षिक २० अर्बको फर्निचर र फनिसिङ सामानको माग नेपालमा रहेकोमा आधाभन्दा बढि बाहिरी देशबाट आयात हुँदै आएको छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले फर्निचर तथा फर्निसिङमा भएको परनिर्भरता हटाउन स्वेदेशी उद्योगलाई वढावा दिनुपर्ने बताए ।
यसका लागि लगानीको वातावरण बनाउन बैंकले न्युनतम् ब्याजदरमा उद्योगी व्यवसायीलाई कर्जा दिनुपर्ने उनको भनाई छ ।
महासंघका अध्यक्ष सुरेन्द्रकुमार सारडाले नेपाली बजारमा फर्निचरको राम्रो माग रहेकोले यस क्षेत्रको विकास गरेमा फर्निचर खरिदका लागि बाहिरिने अर्बौ रुपैयाँ देशमै राख्न सकिने बताए । नेपाली फर्निचर व्यवसाय विदेशी फर्निचरसँगको प्रतिस्पर्धामा उत्रन सक्ने अवस्था बनाउन स्वदेशी व्यवसाय प्रवद्र्धन गर्नु आवश्यक रहेको उनको भनाई छ ।
देशका मुख्य मुख्य शहरी क्षेत्रमा मात्र सीमित व्यवसायलाई बिस्तार गर्दै लैजानु आवश्यक रहेको भन्दै कार्यक्रममा व्यवसायीहरुले फर्निचर उद्योग काठमाडौं उपत्यकामा मात्र १० हजार हाराहारीमा सञ्चालित रहेको जानकारी दिए ।
यस उद्योगमा ५० हजारले रोजगारी पाएको, देशभर हजारौं परिवारले घरेलु उद्योगको रुपमा फर्निचर व्यवसाय संचालन गरी जीविकोपार्जन गर्दै आए पनि संगठित भने हुन नसकेको भन्दै उनीहरुले फर्निचर व्यवसायलाई उद्योगको रुपमा विकास गर्न आवश्यक सीप तथा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्नु आवश्यक रहेको बताए ।