राष्ट्रियसभा चुनावपछि पनि सत्ता नछोडे देउवालाई टिपेर मिल्काउने लालबाबुको चेतावनी

Advertisement

काठमाडौंः एमालेका पोलिटव्यूरो सदस्य लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनसम्म यो सरकारलाई आफूहरुले कुरेर बस्ने र उक्त निर्वाचनपछि पनि सत्ता नछोडे धकेलेर फालिदिने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लबमा पण्डितले निर्वाचनपछि पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार कुरेर बसिरहे धकेलेरै बाहिर फालिदिने चेतावनी दिएका हुन् । उनले भने, “हामी निर्वाचनसम्म धैर्य गर्छौं, यदि त्यसपछि पनि उहाँहरु सरकारमै टाँसिरहन चाहानुभयो भने हामी धकेलेर निकालिदिन्छौं ।”

पण्डितले अहिलेको अवस्थामा प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तीको विषयले जुन ठाउँ लिइरहेको छ, त्यसबारे टिप्पणी गर्दै भने, “प्रदेशको प्रमुखको नियुक्तीमा धेरैको चासो रहेको छ, राजधानी बनाउने विषयमा ठाउँठाउँमा आन्दोलन भइरहेका छन् । कतिपय ठाउँमा हाम्रो ठाउँमा मान्नुपर्छ भनेर माग आइरहेको छ । यसलाई मैले अस्वभाविक मानेको छैन ।”

सरकारलाई प्रदेश प्रमुख तोक्न र राजधानी तोक्नको लागि कसैले नरोकेको उल्लेख गर्दै नेता पण्डितले भने, “सरकारले नतोकिरहेको एउटा स्थिति छ । यदि सरकार तोक्न सक्ने हैसियतमा छैन भन्ने हो भने सरकार छोड्नुपर्यो । सरकार बनेको पहिलो हप्तामा हामी प्रदेशको अस्थायी राजधानी तोकिदिन्छौं । अहिले देखिएका सबै असहमतिहरु समाप्त भएर जान्छन् ।”

प्रदेश नम्बर १ को राजधानी सबै हिसावले बृहत्तर विराटनगरलाई नै बनाउनुपर्नेमा उनको जोड थियो । पण्डितले भने, “मेरो मत भन्नुहुन्छ भने मैले त दुई वर्षदेखि भन्दै आएको छु कि विराटनगर महानगरपालिकादेखि लिएर, इटहरी उपमहानगरपालिका, दुहवी, सुन्दरहरैचाका ७ वटा वडा बनाएर बृहत्तर विराटनगर नामकरण गरेर प्रदेशको राजधानी तोकियो भने सबैभन्दा राम्रो हुन्छ । बृहत्तर विराटनगर बनाउनुपर्छ, यो भयो भने सबै समेटिन्छ ।”

पहिला पनि धनकुटा पूर्वाञ्चलको सदरमुकाम रहेको भए पनि जम्मै कार्यकारी काम विराटनगरमा हुन्थ्यो भन्दै उनले थपे, “तराई, मधेस र पहाडको सन्तुलित बसोबास पनि छ । जनजाति र अन्यबीचको पनि सन्तुलित बसोबास छ । त्यसकारणले सन्तुलित रुपमा जनसंख्याको बसोबासको सिमितता, साझाथलोको रुपमा हुन्छ । अहिले मैले सुन्छु, सरकारले कहिले एकतिर आँखा फर्काएको छ । कहिले अर्कोतिर अलिअलि रक्तपात होस् भन्ने सरकारले चाहेको हो भने यस्तो नहोस् । क्लियर कुरा हो । तोक्न सक्ने अधिकार हुँदा पनि तोक्न नसक्ने हो भने सरकार छोड्नुपरयो ।”

Advertisement

Advertisement

Advertisement