चिसोका कारण एक बालकसहित पाँचको मृत्यु

Advertisement

लहानः पछिल्लो केही दिनयता ह्वात्तै बढेको अत्यधिक चिसोका कारण सिरहामा एक नाबालकसहित तीनको र सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण गएराति गोलबजार नगारपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो । जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए ।

यस्तै चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको छ । श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

साथै सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए ।

ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ ।

जाडोबाट बच्नका लागि तत्काल न्यानो कपडा कतैबाट सहयोग नपाएकाले अहिले उनीहरुको जनजीवन कष्टकर बनेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement