ललितपुरलाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गरिनुपर्ने

Advertisement

ललितपुरः ललितपुर उद्योग वाणिज्य संघले ललितपुरलाई सांस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग गरेको छ । संघले हालै निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरुलाई बधाई तथा स्वागत कार्यक्रममा अध्यक्ष कृष्णलाल महर्जनले सो माग गरेका हुन् ।

उनले स्थानीय तह, प्रदेश र संघ तीन तह मिलेर मौलिक कला, संस्कृति, सम्पदा र पर्यटकीय गन्तव्यस्थल भएकोले ख्याल गरेर सो घोषणा गर्न माग गरे । स्थानीय सरकार सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ को धारा ९ मा प्रदेश वा स्थानीय तहले कुनै नगरपालिका, गाउँपालिकाले सो घोषणा गर्ने प्रावधान रहेको छ ।

संघले सो ऐनमा टकेर ललितपुरको कलाकौशल, सम्पदा बचाउन र पर्यटकीय क्षेत्रको विकास गर्न यस जिल्लालाई साँस्कृतिक, हस्तकला र पर्यटकीय जिल्ला घोषणा गर्न माग राखेको अध्यक्ष महर्जनको भनाई छ । यस कार्यमा निजी क्षेत्रको सहभागिता पनि सुनिश्चित गरिनुपर्ने उनको भनाई छ ।

महर्जनले मुलुकको निर्यात व्यापारमा हस्तकलाका वस्तुहरुको विशिष्ट योगदान रहेको चर्चा गर्दै उनले यहाँको आर्थिक विकासका सम्भावनालाई मूर्त रुप दिनुपर्नेमा पनि जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले कला, संस्कृति, सम्पदाले भरिएको ललितपुर जिल्लाले आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने भएकोले हस्तकला, सांस्कृतिक र पर्यटकीय जिल्ला घोषणा गर्न प्रदेश र स्थानीय तह मिलेर जान आग्रह गरिन ।

राणाले संघ, प्रदेश र स्थानीय तहले गर्ने कामबाट जनताले संघीयताको महत्वबोध गर्ने भएकोले नयाँ नेपालको निर्माणमा तीन तहको महत्वपूर्ण भूमिका रहेको बताइन । संविधान कार्यान्वयनको यस घडी आर्थिक समृद्धिको लागि अनुकूल अवस्था रहेको बताउँदै उनले यही समयमा मुलुकलाई आर्थिक समृद्धि र विकासको कार्यमा दो¥हयाउनुपर्ने बताइन ।

माओवादी केन्द्रकी नेतृ एवं ललितपुर क्षेत्र नं ३ बाट साँसद पम्फा भुसालले समग्र काठमाडौंलाई नै सांस्कृतिक राजधानी बनाउनुपर्ने बताइन । उनले राजनीतिक क्रान्तिको लागि धेरै लडिसकेको बताउँदै अब आर्थिक परिर्वतनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताइन ।

Advertisement

Advertisement

Advertisement