काँग्रेस केन्द्रीय समितिमा निर्वाचनको समीक्षा हुने, तर हारको जिम्मेवारी देउवा एक्लैले नलिने

Advertisement

काठमाडौंः कांग्रेसका नेता बालकृष्ण खाँणले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त बताएका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले प्रदेश प्रमुख नियुक्तिका लागि आन्तरिक गृहकार्य सुरु गरिसकेको बताए ।

खाँणले भने, ‘सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्य सुरु गरिसकेको छ, धेरै अघि नै भैसक्थ्यो तर वाम गठबन्धनका नेताहरुले हामी यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुबाट सपथ नै खाँदैनौं भनेर भन्नुभएकोले ढिलाई भएको हो । फेरि हालै भएको प्रमुख दलहरुको बैठकमा उहाँहरुले यो काम त सरकारको हो भनेर जिम्मेवारी दिनुभयो, अब हामी प्रक्रिया अघि बढाउँछौं ।’

साझा व्यक्तित्व, समाज र देशको लागि योगदान पुर्याएका लब्धप्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्त गरिने भन्दै खाँडले कांग्रेसका नेता तथा कार्यकर्ताहरु भने नियुक्त नगरिने जिकिर गरे । उनले अस्थायी राजधानी तोक्ने तयारीमा समेत सरकार जुटिरहेको सुनाए ।

उनले थपे, ‘प्रदेशको अस्थायी राजधानी तोक्नेगरी आन्तरिक गृहकार्य सुरु भइसकेको छ, हामीले त काम चलाउ मात्रै तोक्छौं, तर प्रदेशको राजधानी त प्रदेश सभाले मात्रै तोक्ने संवैधानिक प्रावधान छ, हामी पनि त्यही अनुसारको कामचलाउ राजधानी तोक्छौं, ताकी सपथग्रहण गर्न सजिलो होस् ।’

यो निर्वाचनमा पार्टी हार्नुको कारणबारे तत्काल केन्द्रिय कार्यसमितिको बैठक आह्वान गरेर समीक्षा गरिने पनि खाँडको भनाई छ । उनले थपे, ‘पार्टीले निर्वाचनमा पराजय भोग्नु भनेको यो सबैको जवाफदेहिताभित्र पर्छ, हाम्रो पार्टी सामुहिक जिम्मेवारीले चलेको छ, कि त अब अध्यक्षतात्मक विधान (प्रिसिडेन्सियल फर्म)मा जाने कि कुन स्वरुपमा लिएर जाने भन्नेबारे बहस छ, केन्द्रिय समितिको बैठकमा निर्वाचनको परिणाम र राष्ट्रिय राजनीतिको बारेमा बहस हुन्छ, समीक्षा गर्छौं र उचित निर्णय लिन्छौं ।’

त्यस्तै खाँडले महासमिति बैठक बोलाउन पनि तयारी भइरहेको जानकारी दिए । नेताहरुबीच पछिल्लो समय देखिएका मतमतान्तरको पनि उचित व्यवस्थापन गरिने उनले विश्वास दिलाए ।

खाँडले सबै खाले चूनौतिहरु सामना गर्नको लागि एकता र अनुशासन दुवै आवश्यक रहेको तर्क गर्दै नयाँ पुस्ताका साथीहरुको जोश, जाँगर र क्रान्तिकारितालाई सम्मान गर्दै देउवा अघि बढ्ने बताए । उनले भने, ‘पुस्ताको झगडा हुनुहुँदैन्, हाम्रो पार्टीभित्र चार पुस्ता छ, ०१७ साल, ०३६ साल, ०४६ साल र ०६२ सालगरि चार पुस्ताका साथीहरु छौं, सबैलाई उचित जिम्मेवारी दिने र सबैको साथ र सहयोगले पार्टीलाई बलियो बनाउने वातावरण बनाउनुपर्छ ।’

नयाँ सरकार गठन प्रधानमन्त्री देउवा वा निर्वाचन आयोगको कारणले ढिलाई नभएको तर्क प्रस्तुत गर्दै खाँणले थपे, ‘हामी चाँडोभन्दा चाँडो नयाँ सरकार गठन होस् भन्ने चाहाना राख्छौं, तर हाम्रो मात्रै चाहनाले केही हुँदैन्, संवैधानिक प्रावधानअनुसार चल्नुपर्छ ।’

उनले डाक्टर गोविन्द केसीलाई आफूहरुले सम्मान गर्ने बताउँदै उनका जायज विचारलाई राज्यले सम्बोधन गर्नुपर्ने तर्क गरे । पछिल्लो समय अदालत र केसीबीच भएको घट्ना दुःखदायी रहेको पनि खाँडले सुनाए ।

Advertisement

Advertisement

Advertisement