सर्वनाक हारपछि थापाले एकताका लागि राणा र लोहनीलाई बोलाए, हिन्दुराज्य र राजसंस्था नछोड्ने

Advertisement

काठमाडौंः उपप्रधान एवं उर्जामन्त्री कमल थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिंडेकोले अब वामगठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा थापाले चुनाव सम्पन्न हुनेबित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भूल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताए ।

उनले भने, ‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिइएन, खासगरी चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो, अब चाहीँ सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ ।’

थापाले सरकार गठनमा भएको ढिलाईप्रति कसैले कसैलाई दोष लगाउन आवश्यक नरहेको जिकिर गरे । उनले भने, ‘जनताले बाम गठबन्धनलाई नयाँ सरकार गठनको लागि म्याण्डेट दिएका छन्, जनतको म्याण्डेट अनुसार वाम गठबन्धनको नेतृत्वमा सरकार बन्नुपर्छ, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ सरकार गठन गर्न असफल हुनुभयो भने जनता प्रतिको ठूलो धोका हुन्छ ।’

वाम गठबन्धनले चुनावमा जानुपुर्व नै अबको सरकार स्थिर हुने भनेर आश्वासन बाँडेकोले जनताले सोहीअनुसार म्याण्डेट दिएको उनको भनाई थियो । थापाले जनताको म्याण्डेट अनुसार वामगठबन्धनको सरकार नबने मुलुकमा फेरि राजनीतिक अस्थिरता सिर्जना हुने र मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउन बाधा उत्पन्न हुने उल्लेख गर्दै भने, ‘जनताको म्याण्डेट अनुसार नै वाम गठबन्धनको सरकार बनाउनुपर्छ, हामी यही चाहन्छौं ।’

वर्तमान सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नको लागि गम्भीर र महत्वपूर्ण प्रयास गरेको भन्दै थापाले भने, ‘गम्भीर र महत्वपूर्ण विषय भएकोले सबैको समर्थन लिने प्रयास भएको हो । सकेसम्म सहमति कायम गर्न खोजिएको हो, तर वामगठवन्धनले खोंचे थापेर यो सरकारले नियुक्त गरेको प्रदेश प्रमुखबाट सपथग्रहण गर्दैनौं भन्नुभयो ।’

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने काम सरकारको हो भनेर एमाले अध्यक्ष ओलीले अभिव्यक्ति दिनु निहुँ खोज्ने र अनुत्तरदायी कुरा मात्रै भएको उनको आरोप थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका थापाले पार्टीले यो पटकको निर्वाचनमा कल्पना समेत नगरेको परिणाम व्यहोरेको सुनाए ।

उनले भने, ‘हामी कल्पना नगरेको मतपरिणाम भोग्नुपर्यो, निराशजनक र अकल्पनीय छ, निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको बारेमा समीक्षा र अध्ययन हुँदैछ ।’ थापाले मुलुकमा बलियो राष्ट्रवादी शक्तिनिर्माण नहोस् भनेर राप्रपालाई विभाजन गरिनु पनि अहिलेको निराशजनक अवस्थामा पुर्याएको र पार्टी हार्नुको मुल कारण भएको स्पष्ट पारे ।

यसबाहेक हालै सम्पन्न चुनावमा सशक्त वामगठबन्धन हुनु तर त्यस्तै लोकतान्त्रिक गठबन्धन निर्माण हुननसक्नु दुःखदायी भएको टिप्प्णी गर्दै भने, ‘केवल चुनावी तालमेल मात्रै भयो, इमानदारीता देखाउने काम भएन, त्यस्तै हामीले अर्को ठूलो कार्यनीतिक भुल गर्यौं, प्रतिनिधिसभा र प्रदेशसभामा न्यून उम्मेद्धवार उठायौं, १६५ प्रतिनिधिसभामा जम्मा पाँच जना उम्मेद्धवार र ३३० प्रदेश सभामा जम्मा १५ जना उठायौं, यो पनि अर्को ठूलो भुल भयो ।’

थापाले आफूहरु विचलित नभएको समेत स्पष्ट पारे । उनले भने, ‘हामी विचलित भएका छैनौं, अलग पहिचान र विचार बोकेर हिँडेका छौं, सनातन धर्म र राजसंस्था सहितको लोकतन्त्र मुल एजेण्डा बोकेको वैकल्पिक शक्ति हौं, हाम्रो औचित्य समाप्त भएको छैन, बलियो राष्ट्रवादी शक्ति बन्न सक्ने गुण र क्षमता राप्रपासँग मात्रै छ ।’

उनले आउने दिनमा राप्रपा अग्रणी शक्तिको रुपमा स्थापित हुने पनि विश्वास दिलाए । थापाले आगामी दिनमा राप्रपालाई सदनमा नभएर सडकमा हेर्न जनताले चाहेको पनि सुनाए । उनले थपे, ‘यो निर्वाचनमा राप्रपाको बीउसम्म जोगाउने काम भयो, तर जनताले हामीलाई सदनमा होइन, सडकमा हेर्न चाहेका छन्, त्यहीअनुसार हामी सडककेन्द्रित कार्यक्रमहरु अब सञ्चालन गर्छौं ।’

थापाले आगामी फागुणको अन्तिम साता केन्द्रिय परिषदको बैठक बोलाउने तयारी भइरहेको पनि जनाए । त्यस्तै उनले पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीलाई पनि पार्टी एकतामा आउनको लागि आह्वान गरे । उनले थपे, ‘म यही मञ्चबाट भन्न चाहन्छु, पशुपतिजी र लोहनीजीलाई, जुन विन्दुबाट विभाजन गरेर जानुभयो, त्यही विन्दुमा आएर एकता गर्न आह्वान गर्दछु ।’ उनले अहिले पनि राप्रपा राष्ट्रिय पार्टी नै भएको जिकिर गरे ।

थापाले भोलि पुस २७ गते राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउनको लागि सम्पूर्ण देशवासीलाई आग्रह गरे । उनले भने, ‘०६३ सालदेखि यो पर्व अवरुद्ध थियो, अब निरन्तरता प्राप्त भएको छ, हाम्रो पार्टीले त निरन्तर मनाउँदै आएको छ, राप्रपाले सुरुवातदेखि नै सबै सरकारसँग एकता दिवसको दिन सार्वजनिक विदा माग गर्दै आएको थियो, यो वर्ष मेरो नेतृत्वमा पहल भएको हो, सबैको सकारात्मक सोच हुँदा हुँदै पनि निर्णय भएको थिएन, तर यो वर्ष निर्णय भयो ।’

Advertisement

Advertisement

Advertisement