धानको उत्पादन १.५ प्रतिशतले घट्यो, ५१ लाख ५१ हजार टन धान फल्यो

Advertisement

काठमाडौंः यो बर्ष नेपालमा ५१ लाख ५१ हजार ९२५ टन धान उत्पादन भएको छ । कृषि विकास मन्त्रालयका अनुसार यस बर्ष धान उत्पादन गत बर्षको तुलनामा १ दशमलव ५ प्रतिशतले कमी आई ५१ लाख ५१ हजार ९२५ टन धान उत्पादन भएको हो ।

गत बर्ष ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । तराईमा आएको बाढी र ढिला गरि सुरु भएको मनसुनको कारणले गर्दा रोपाँइमा समेत कमी हुँदा धान उत्पादनमा कमी आएको मन्त्रालयले जनाएको छ ।

साथै, मन्त्रालयका अनुसार यस बर्ष प्रति हेक्टर धानको उत्पादकत्वमा वृद्दि भई तीन दशमलव ५०६ टन पुगेको छ । गत बर्ष प्रति हेक्टर धानको उत्पादकत्व तीन दशमलव ३६९ टन रहेको थियो । यो बर्ष १४ लाख ६९ हजार ५४५ हेक्टर जमिनमा रोपाँइ भएको थियो ।

तराईमा आएको बाढीले २५ हजार हेक्टर धान बाली नष्ट हुँदा करिब ९० हजार टन धान उत्पादनमा कमी आएको जनाइएको छ । मन्त्रालयले यो बर्ष ५४ लाख टन धान फलाउने लक्ष्य लिएको थियो ।

त्यसैगरि धानपछिको दोस्रो प्रमुुख बाली मकैको उत्पादनमा ९ दशमलव ४ प्रतिशतले वृद्दि भई २५ लाख ५५ हजार ८४७ टन उत्पादन भएको छ । यो बर्ष ९ लाख ५४ हजार १५८ हेक्टर जमिनमा मकै खेती गरिएको थियो ।

यस बर्ष दुई लाख ६३ हजार ४९७ हेक्टर जमिनमा कोदो खेती भएकोमा गत बर्षको तुलनामा सुन्य दशमलव ०२ प्रतिशतले वृद्दि भई तीन लाख १३ हजार ९८७ टन उत्पादन भएको छ ।

यस बर्ष ११ हजार ४७२ टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement