रत्ननगर महोत्सव सुरु, माघ ७ गतेसम्म चल्ने

ratnanagar-vc-pun

रत्ननगर, चितवनः उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा बिहीबारदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्दै पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भएकाले अबको युग आर्थिक समृद्धिको युग भएको बताए ।

उनले भने, “देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको छ । हामी निशंकोच भन्न सक्छौँ, अबको युग आर्थिक समृद्धिको युग हो, अब हामी आर्थिक समृद्धिको युगका नेपाली हुनेछौँ ।”

पुनले लगानीमैत्री वातावरण र राजनीतिक स्थिरताविना समृद्धि सम्भव नभएको बताए । नयाँ जनादेशअनुसार संघ र प्रदेशमा छिट्टै स्थिर सरकार बन्ने र राजनीतिक स्थिरतासँगै नेपाल पूर्ण लगानीमैत्री बन्ने विश्वास उनको छ ।

चितवन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले सरकार गठन प्रक्रिया लम्बिँदै गएकाले अहिले अर्थतन्त्र धेरै जोखिममा परिरहेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको बताए ।
जनादेश प्राप्त दलहरु बाहिर रहेको अवस्थामा अहिलेको सरकारले ठूला काम गर्न नसक्ने उनको जिकिर थियो ।

रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव संयोजक राजाराम रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । महोत्सव आगामी माघ ७ गतेसम्म चल्ने छ ।