माग पूरा नभएको भन्दै सत्याग्रह जारी राख्ने केसीको निर्णय

Advertisement

काठमाडौँः स्वास्थ्य शिक्षा र स्वास्थ्य सेवा सुधार अभियान सञ्चालन गरिरहेका चिकित्सक डा गोविन्द केसीले आफ्नो सत्याग्रह जारी राख्ने जानकारी दिएका छन् । उनले आफ्ना मागहरु पूरा नभएको भन्दै सत्याग्रह जारी राख्ने बताएका हुन ।

उनले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रधानन्याधीशको नागरिकताको विषय र शैक्षिक प्रमाणपत्र छानविनको विषय सकारात्मक भए पनि आफूहरुले राखेका बाँकी मागहरु पूरा नभएको भन्दै सत्याग्रह जारी राख्ने बताएका हुन ।

उनले मेडिकल माफियालाई साथ दिएको भन्दै प्रधानन्यायधीस गोपाल पराजुलीले राजीनामा दिनुपर्ने, चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने, वरिष्ठताका आधारमा नियुक्त डिनलाई कायम गर्नुपर्ने, त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्नेलगायतका माग अघि सारेका थिए ।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा अनशनमा डा केसीले सर्वोच्च अदालतले चार वर्ष पुरानो मुद्दामा चिकित्साशास्त्र अध्ययन संस्थानबाट बर्खास्त गरिएका डिन डा. शशी शर्मालाई पुनर्बहाली गरेको भन्दै पराजुलीविरुद्ध उत्रिएका थिए ।

त्यससँगै उनले अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गर्न र बयानका लागि अदालतमा उपस्थित गराउन आदेश दिइएको थियो । केसीले अदालतको अवहेलना गर्नु आफ्नो उद्देश्य नभएको भन्दै आफ्नो आन्दोलन प्रधानन्यायधीस पराजुली विरुद्ध रहेको बताएका थिए ।

उनको विज्ञप्ति यस्तो छ

प्रेस विज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियान अन्तर्गत म सत्याग्रहमा रहेको कुरा विदितै छ ।

म माथि सत्याग्रहको क्रममा अदालतको अवहेलना सम्बन्धी मुद्दा लगाई मलाई गिरफ्तार गरी अदालतमा उपस्थित गराइ बयान गराइएको र मुद्दाको कारवाही शुरु गरिएको पनि विदितै छ । अदालतमा बयान गर्ने क्रममा प्रधान न्यायधीश गोपाल पराजुलीका शैक्षिक प्रमाणपत्र र नागरिकताका प्रमाणपत्रहरु छानविन गरिनु पर्दछ र छानविन गरियोस् भनी मैले गरेको निवेदनलाई सम्मानित इजलासले सकारात्मक रुपमा लिई मिति २०७४ पुष २६ गते आदेश हुँदा निम्नबमोजिम आदेश भएको छ ।

१. सम्माननीय प्रधानन्यायधीश गोपाल पराजुलीको नामको काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट लिएका दुवै नागरिकताको प्रतिलिपि झिकाउनुका साथै न्याय परिषद्बाट उमेरका सम्बन्धमा भएको निर्णय तथा शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरु समेत झिकाउनु ।

२. निवेदक प्रा डा शशी शर्मा विपक्षी त्रिवि कुलपति तथा सम्माननीय प्रधानमन्त्री समेत भएको ०७०–ध्इ–०५७१को मुद्धामा मिति २०७४।९।२३ को फैसलासहितको मिसिल झिकाइ साथै राख्नु ।

मेरो अदालतप्रतिको सम्मान र निष्ठा सधैं उँच्चो छ र पौष २६ मा भएको उक्त आदेशले मैले प्रधान न्यायधीश गोपाल पराजुलीको सम्बन्धमा उठाएका प्रश्नहरुलाई गम्भीरतापूर्वक लिएर अदालतले निज प्रधान न्यायधीशलाई न्यायिक छानविनको दायरामा राखेको न्यायिक आदेशको म प्रशंसा गर्दछु । र न्यायिक छानविनपश्चात सत्य र तथ्यगत रुपमा निर्णय हुने कुरामा म विश्वस्त छु । निज पराजुलीको आधारभुत योग्यता र नैतिकतामाथि यस्तो गम्भीर प्रश्न उठेको र त्यसमाथिको छानविन न्यायिक प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा निज कुनै पनि अवस्थामा अब देशको सर्वोच्च न्यायालयको नेतृत्व गर्न योग्य नभएको प्रष्टै छ । निज पदमा वहाल रहेसम्म ती मुद्दा निष्पक्ष रुपमा अगाडि नबढ्ने र न्याय सम्पादन प्रभावित हुने देखिन्छ । त्यसैले हामीले पौष २४ गतेको प्रेस विज्ञप्तिमार्फत् गोपाल पराजुलीको राजीनामा माग गरेकोमा अब न्यायालयभित्रकै न्यायिक प्रक्रियाले त्यो मागलाई पुष्टि गरेको छ ।

त्यसबाहेक हामीले यस सत्याग्रहका क्रममा राखेका मागहरुमध्ये बाँकी बुँदाहरु अहिलेसम्म सम्बोधन भएका छैनन् । त्यसैले उक्त मागहरु पूरा नहोउन्जेल हाम्रो सत्याग्रह जारी रहने कुरा जानकारी गराउन चाहन्छौं ।

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

२०७४।९।२७

Advertisement

Advertisement

Advertisement