नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न विश्व उर्जा परिषद्लाई राजदूत थापाको आग्रह

Advertisement

काठमाडौँ: बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर थापाले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी बढाउन विश्व ऊर्जा परिषद्लाई आग्रह गरेका छन् ।

परिषद्का लागि स्थायी प्रतिनिधिसमेत रहेका डा थापाले सो परिषद्का महासचिव क्रिस्टोफ फ्रेइसँग बुधबार लण्डनमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै सो आग्रह गरेका हुन् ।

शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको र मुलुकका राजनीतिक स्थिरता कायम भइसकेको भन्दै राजदूत थापाले सरकारको मुख्य लक्ष्य आर्थिक विकास रहने भएकाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न परिषद्लाई आग्रह गरेका हुन् ।

नेपालको जलविद्युत् क्षमतालाई आर्थिक विकासको मेरुदण्डका रुपमा लगानी र सहभागिता बढाउन तथा विश्व ऊर्जा समुदायमा नेपालको उपस्थिति जनाउन सरकारको तर्फबाट आफूले सक्रिय सहभागिता जनाउने बताएको लण्डनस्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परिषद्को स्थायी प्रतिनिधिमा डा सुवेदी नियुक्त भएकोमा महासचिव फेइले नेपालको सक्रिय र सार्थक सहभागिताका लागि अनुरोध गरेका छन् ।

नेपालको आर्थिक विकासका लागि ऊर्जाको विकास अपरिहार्य रहेको बताउँदै उनले भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट पीडित नेपालले त्यसको पुनःनिर्माणका साथसाथै ऊर्जाको दिगो विकासमा ध्यान केन्द्रित गर्नुपर्ने र यसका लागि आफ्नो र परिषद्को आवश्यक सहयोग रहने धारणा व्यक्त गरे ।

राजदूत डा सुवेदीले महासचिव फेइलाई उपयुक्त समयमा नेपाल भ्रमणको निमन्त्रणासमेत दिएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement