चेम्बर अफ कमर्शले मनायो चेम्बर दिवस, सार्वजनिक विदा घटाउनुपर्नेमा बढाइएकोप्रति आपत्ति

Advertisement

काठमाडौंः नेपाल चेम्बर अफ कमर्शले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चेम्बर दिवस मनाएको छ । चेम्बर दिवसमा उपराष्ट्रपति नन्दबहादुर पुन प्रमुख अथिति थिए ।

चेम्बरको ६७औं बार्षिक साधारणसभासमेत रहेको यस कार्यक्रममा उपराष्ट्रपति पुनले मुलुकको अबको एजेन्डा आर्थिक समृद्धि हुनुपर्ने बताए । उनले राजनीतिक संक्रमणकाल अन्त्य भई मुलुकमा शान्ति स्थापना भएकाले मुलुकले अब आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने बताए ।

उपराष्ट्रपति पुनले मुलुकको आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्ने बताए । यसका लागि सरकारले निर्यात वृद्धि गर्ने नेपाली उद्योगी व्यवसायीहरुलाई सम्मान गर्ने परम्परा थाल्नुपर्ने उनले बताए ।

चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रकोे सशक्तिकरणबाट मात्र राष्ट्रको समग्र विकास सम्भव हुने मूलमन्त्र लिई नेपाल चेम्वर अफ कमर्सले आफ्नो स्थापनाकालदेखि नै काम गर्दै आएको भन्दै चेम्बरले सरकार र निजी क्षेत्रबीच सेतुको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताए ।

मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने अभियानको शुभारम्भ भएको भन्दै उनले हाल चेम्बरमा ८५ वटा वस्तुगत संघ, २० वटा द्विराष्ट्रिय उद्योग वाणिज्य संघ आवद्ध रहेको छ र ५२ वटा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग समझदारी पत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिए ।
श्रेष्ठले नेपाल सार्वजनिक विदा दिने देशमा पहिलो नम्बरमा परेको भन्दै विदाहरु कटौती गर्नुपर्नेमा झन थपिंदै आएको बताए । उनंले सांस्कृतिक दृष्टिकोणले निश्चित समुदायका पर्वमा सोही समुदाय तथा क्षेत्रलाई बिदा दिने गरी अन्य कार्यालय बन्द नगर्ने व्यवस्था हुनुपर्ने बताए ।

साँस्कृतिक पर्वका विदाको दिनमा समेत बैंक वित्तीय एवं सेवाका कार्यालयहरु खुला हुने व्यवस्था गर्न अध्यक्ष श्रेष्ठले सरकारसँंग अनुरोध गरे । उनले निजी क्षेत्रप्रतिको सकारात्मक धारणा निर्माणका लागि अझै पनि पहल हुन नसकेको बताए ।

अध्यक्ष श्रेष्ठले व्यापारीलाई पहिला थुन्ने अनि सुन्ने गर्नुभन्दा पनि कालोबजारी ऐन २०३२ लाई अन्य ऐन जस्तै आजको खुला अर्थतन्त्रको परिवेश तथा आवश्यकताअनुरुप परिमार्जन एवं परिस्कृत गर्नुपर्छ भने ।

सो अवसरमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट गणेशभक्त साख, इन्द्रभक्त मेमोरिय अवार्डबाट शिवकुमार अग्रवाल, वनवारीलाल मेमोरियल अवार्डबाट सुगतरत्न कंसाकारलाई पुरस्कृत गरियो । साथै, नेपाल चेम्वर अफ कमर्सको कार्यसमितिमा रहेर निरन्तर ४० वर्ष भन्दा बढी विभिन्न पदमा रहेर कार्य गरी विशेष योगदान पुयाउने प्रथम उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरलाई कदरपत्र प्रदान गरियो ।

त्यसबाहेक चेम्वरको अग्रसरतामा सञ्चालित प्राकृतिक प्रकोपबाट पीडित राहत कार्यमा योगदान पुयाउने नेपाल निर्जीवन विमा व्यवसायी संघका अध्यक्ष तथा चेम्वरका उपाध्यक्ष राजेन्द्र मल्ल, प्रभु इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्य, मनाङ एयर प्रालिका अध्यक्ष सतिशप्रसाद प्रधान, भक्तपुर इटा तथा टायल उद्योग संघका अध्यक्ष दुर्गाप्रसाद मल्ल, श्रीकृष्ण सुधा अमृत सेवा संघका माता सपना श्रेष्ठ, चेम्वर कार्यसमिति सदस्यहरु सुरेन्द्रकुमार श्रेष्ठ, सुवासचन्द्र संघाई, दीपक मल्होत्रा, आरबी कम्प्लेक्स व्यापार संघका महासचिव संदीप अग्रवाल, नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिला, खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष मनोज श्रेष्ठ, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ गरी १२ जनालाई सम्मान गरियो ।

यसैगरी, चेम्वरबाट तेश्रो मुलुकतर्फ जारी गरिएको उत्पतिको प्रमाणपत्रको आधारमा उत्कृष्ट स्थान हासिल गर्न सफल पाँंच जना कार्गाे एजेन्ट तथा निकासीकर्ताहरुलाई पनि सम्मान गरियो ।

Advertisement

Advertisement

Advertisement