प्रधानन्यायाधीशबारे धारणा बनाउन आज बारको बैठक बस्दै

Advertisement

काठमाडौँ: सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र झिकाउन आदेश दिएपछि उनीबारे धारणा बनाउन नेपाल बार एशोसिएशन सल्लाहकार र कार्यसमिति बैठक शुक्रबार बस्दैछ ।

आज बैठक बसेर प्रधानन्यायाधीश जोडिएको यो मुद्दामा नेपालबारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने अध्यक्ष शेरबहादुर केसीले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पतालका प्राध्याकप डा. गोविन्द केसी विरुद्धको अवहेलना मुद्दामाथि सुनुवाई गर्दा सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिनका लागि झिकाएपछि उनले काम गर्ने वा नगर्ने भन्नेबारे गम्भीर प्रश्न उठेको छ।

एकथरीले नैतिकताको आधारमा उनले आफ्नो कामबाट अलग बस्नुपर्ने भनिरहेका छन्। अर्काथरिले भने संविधान र प्रधानन्याधीशले निर्वाध काम गर्न संविधान र कानुनले नरोकेको बताएका छन्।

यो विषयमा न्याय क्षेत्रमा निकै अर्थ राख्ने संस्था नेपाल बार एशोसिएशनको धारणा के हो भन्ने सेतोपाटीको प्रश्नमा नेपाल बारका अध्यक्ष शेरबहादुर केसीले भने, ‘यसबारे नेपाल बारले भोलि नै आधिकारीक धारणा सार्वजनिक गर्दै छ त्यसअघि म केही भन्दिनँ।’

नेपाल बारका महासचिव खम्बबहादुर थापाले सल्लाहकार र कार्यसमिति बैठक बस्ने जानकारी दिए।

हिजोसम्म विचाराधीन मुद्दा थियो। हामीले अब बल्ल बारले यो विषयमा बोल्ने छ। त्यसअघि सल्लाहकार र केन्द्रीय समिति बैठक हुन्छ। हाम्रा सदस्यहरु टाढाबाट आउनुपर्ने हुन्छ,’ उनले भने।

Advertisement

Advertisement

Advertisement