कतारबाट फर्किएर वार्षिक करोडको दुध बिक्री गर्दै युवाहरु

Advertisement

बेनीः म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट वार्षिक एक करोड रुपियाँ बराबरको कारोबार गरेका छन् ।

उनीहरुले दूध बिक्री गरेर मासिक ४० हजार रुपियाँदेखि एक लाख रुपियाँसम्म आम्दानी गर्दैआएका छन् । कतारबाट फर्किएर गाउँमा भैँसीपालन गर्दैआएका बेनी नगरपालिका–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक एक लाख रुपियाँ भन्दा बढी कमाउन थालेका छन् ।

उनले २०६८ सालमा एक लाख रुपियाँको लगानीमा दुईवटा भैँसी खरिद गरेका थिए । दूधबाट मनग्य आम्दानी हुने देखेपछि केसीले अहिले ६ वटा भैँसी र एउटा उन्नत जातको जर्सी गाई पालेका थिए । उनले दैनिक ७० लिटर दूध बिक्री गर्छन् ।

केसी मात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिक रुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक एक लाख रुपियाँ भन्दा बढी कमाई गर्दै आएका छन् । गाउँमा जनभावना दुग्ध सहकारी संस्थाको स्थापना भएपछि सो सहकारीमार्फत तीन सय लिटर र किसानले व्यक्तिगत रुपमा १५० लिटर दूध बजारमा बिक्री गर्दैआएका छन् ।

सहकारीका सञ्चालक कोपिलाल पौडेलका अनुसार अहिले बजारमा दूध प्रतिलिटर ८५ रुपियाँमा बिक्री भइरहेको छ । किसानले प्रतिलिटर ६५ रुपियाँमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

“गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन्,” उनले भने–“बयालिस घरधुरीले व्यावसायिक रुपमा गाई–भैँसीपालन गर्दैआएका छन् ।”

जिल्ला पशुसेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सो सहकारीले संकलन गरेको दूधलाई बजार लैजान कर्मचारी परिचालन गरिएको छ । सहकारीमार्फत दूध बेच्ने किसानलाई सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले किसान सहकारीको अभियानतर्फ आकर्षित भएका छन् ।

Advertisement

Advertisement

Advertisement